प्रधानमन्त्री बालेनलाई पूर्वसांसद किरण साहको सुझाव : ‘भाषण होइन, परिणाम र आश्वासन होइन, सुशासन चाहियो’
प्रधानमन्त्री बालेनलाई पूर्वसांसद किरण साहको सुझाव : ‘भाषण होइन, परिणाम र आश्वासन होइन, सुशासन चाहियो’

प्रेमचन्द्र झा ,कार्तिक १९ रौतहट
रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सत्य, न्याय र सुशासनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साहले प्रधानमन्त्री शाहलाई जनताको ठूलो आशा र भरोसाको नेतृत्वका रूपमा चित्रण गरेका हुन्।
पूर्वसांसद साहले प्रधानमन्त्री शाहको साहस, दृढ इच्छाशक्ति, परिवर्तनप्रतिको प्रतिबद्धता र पुरानो राजनीतिक बेथितिविरुद्ध उभिने आँटले लाखौँ नेपालीमा नयाँ आशा जगाएको उल्लेख गरेका छन्। जनताले सरकारको नेतृत्वमा नयाँ अनुहार मात्र नभई नयाँ संस्कार, राजनीतिक संस्कृति र न्यायपूर्ण शासनको अपेक्षा गरेको उनको भनाइ छ।
साहले पछिल्लो समय चर्चामा रहेको आईजीपी प्रकरण तथा इनम सापकोटाले दिएको बयानका विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन्। उक्त प्रकरणको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गराउन र बयानमा उल्लेख भएअनुसार कसैको संलग्नता प्रमाणित भएमा पद, प्रतिष्ठा, पहुँच वा राजनीतिक सम्बन्धको कुनै प्रभाव नपारी कानुनअनुसार कारबाही गर्न उनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्
‘प्रधानमन्त्रीज्यू, तपाईं अगाडि बढ्नुहोस्, हामी तपाईंको साथमा छौँ। तर तपाईंले समात्नुभएको सत्य, न्याय र समानताको बागडोर कहिल्यै नछोड्नुहोस्,’ साहले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले प्रधानमन्त्री शाहको काँधमा सरकार सञ्चालनको जिम्मेवारीसँगै जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका अधुरा सपना र शहीद परिवारको आँसुको जिम्मेवारीसमेत रहेको स्मरण गराएका छन्। युवाहरूले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन नभई भ्रष्टाचारमुक्त, न्यायपूर्ण र सुशासनयुक्त नेपाल निर्माणको सपना बोकेर बलिदानी दिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहलाई इतिहासमा राष्ट्रप्रेम, दृढता र निडरताका लागि स्मरण गरिने भीमसेन थापाको उदाहरण दिँदै साहले शक्तिको अगाडि नझुक्न, कुनै दबाबमा नपर्न र न्याय सम्पादन गर्दा कसैको अनुहार नहेर्न सुझाव दिएका छन्।
उनका अनुसार प्रधानमन्त्री शाह सफल भएमा एउटा सरकार मात्र सफल हुने छैन, शहीदहरूको सपना, नेपाली जनताको विश्वास र देशको भविष्यले समेत नयाँ दिशा प्राप्त गर्नेछ। उनले व्यक्ति विशेषको शासनभन्दा विधिको शासन स्थापित हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
‘कुर्सीमा बस्ने अवसर धेरैले पाउँछन्, तर जनताको हृदयमा बस्ने अवसर विरलैले पाउँछन्। इतिहास लामो शासनले होइन, इमानदार कर्मले लेखिन्छ,’ साहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
साहले प्रधानमन्त्री शाहलाई शहीदहरूको बलिदानी खेर जान नदिन, जनताको विश्वास कायम राख्न र सत्य, न्याय तथा समानताको बाटोबाट विचलित नहुन आग्रह गरेका छन्। अब मुलुकलाई भाषण र आश्वासनभन्दा परिणाममुखी काम तथा प्रभावकारी सुशासन आवश्यक रहेको उनको निष्कर्ष छ।
प्रधानमन्त्री शाहले अघि सारेको परिवर्तनको अभियानलाई समर्थन गर्दै पूर्वसांसद साहले सरकारका सकारात्मक कदममा साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।






