विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर

विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर

प्रेमचन्द्र झा /असोज ०१ रौतहट

विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर नजिकै रहेको कानु धर्मशालामा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

नेपाल विश्वकर्मा लोहार संघ र सिर्जनात्मक समाज कल्याण केन्द्र रौतहटको संयुक्त आयोजनामा सञ्चालित शिविरमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका कन्सल्ट्यान्ट फिजिसियन डा. रञ्जित यादव नेतृत्वको चिकित्सकीय टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेको थियो।

शिविरमा मधुमेह (चिनी रोग), थाइराइड, उच्च रक्तचाप, दम, मुटुसम्बन्धी समस्या तथा अन्य रोगको निःशुल्क परीक्षण गरिएको आयोजकले जनाएको छ। सहभागीको स्वास्थ्य अवस्थाअनुसार आवश्यक परामर्शसमेत दिइएको थियो।

स्वास्थ्य शिविरमा मधुमेहको खाना खानुअघि र खाना खाइसकेपछिको रक्त परीक्षण, थाइराइड परीक्षण, रक्तचाप जाँच, दमसम्बन्धी परीक्षण, मुटुको ईसीजी तथा कोलेस्ट्रोलको लिपिड प्रोफाइललगायतका प्रयोगशाला परीक्षण निःशुल्क गरिएको थियो।

त्यसैगरी आयोजक संस्थाले चिनी रोग, रक्तचाप, खोकीलगायतका स्वास्थ्य समस्याको आवश्यक परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधिसमेत वितरण गरेको जनाएको छ।

विश्वकर्मा पूजाका अवसरमा धार्मिक कार्यक्रमसँगै स्थानीय समुदायको स्वास्थ्य आवश्यकतालाई समेत सम्बोधन गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकको भनाइ छ। शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजकका अनुसार ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने भएकाले आगामी दिनमा पनि सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।