अवैध सामान बरामद प्रकरणमा रास्वपाको स्पष्टीकरण, ‘भोला साह पार्टीका नेता होइन
अवैध सामान बरामद प्रकरणमा रास्वपाको स्पष्टीकरण, ‘भोला साह पार्टीका नेता होइन

प्रेमचन्द्र झा /रौतहट ७ असोज
रौतहटमा करिब ५० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको घटनासम्बन्धी समाचारमा भोला साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति रास्वपाले आपत्ति जनाएको छ। रास्वपा मधेस प्रदेश कार्यालय र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्।
रास्वपा रौतहट जिल्ला समितिका सभापति प्रदीप साहद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भोला साहबाट करिब ५० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद’ भन्ने आशयका समाचार प्रकाशित तथा प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भोला साह रास्वपा रौतहट जिल्ला समितिको मात्र नभई पार्टीको कुनै पनि आधिकारिक कमिटीका सदस्य, पदाधिकारी वा आधिकारिक प्रतिनिधि नभएको स्पष्ट पारिएको छ। उनलाई पार्टीले कुनै आधिकारिक पद वा जिम्मेवारीसमेत प्रदान नगरेको जिल्ला समितिको भनाइ छ।
जिल्ला समितिले कुनै व्यक्ति राजनीतिक दलको समर्थक वा शुभेच्छुक हुनु र सोही दलको आधिकारिक पदाधिकारी वा नेता हुनु फरक विषय भएको उल्लेख गरेको छ।
केवल कुनै दललाई समर्थन गर्ने वा शुभेच्छुक भएको आधारमा सम्बन्धित व्यक्तिलाई उक्त दलको नेता वा आधिकारिक प्रतिनिधिका रूपमा प्रस्तुत गर्नु तथ्यसंगत नहुने रास्वपाको भनाइ छ।
रास्वपा मधेस प्रदेश कार्यालयका महामन्त्री मनिष कुमार साहले जारी गरेको अर्को विज्ञप्तिमा पनि भोला साह पार्टीको कुनै आधिकारिक पदमा नरहेको स्पष्ट पारिएको छ। विज्ञप्तिमा उनलाई रास्वपाको स्थानीय नेताका रूपमा उल्लेख गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
प्रदेश समितिले भोला साह रास्वपा रौतहट जिल्ला समितिको मात्रै नभई पार्टीको कुनै पनि आधिकारिक कमिटीको सदस्य, पदाधिकारी वा आधिकारिक प्रतिनिधि नभएको जनाएको छ। उनलाई पार्टीले कुनै आधिकारिक पद वा जिम्मेवारी नदिएको पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा कुनै व्यक्ति पार्टीका कार्यक्रममा सहभागी हुनु, पार्टीका नेता तथा कार्यकर्तासँग फोटो खिचिनु वा सामाजिक सञ्जालमा पार्टीसम्बन्धी गतिविधिमा देखिनुले मात्र उक्त व्यक्तिलाई पार्टीको नेता, पदाधिकारी वा आधिकारिक प्रतिनिधि प्रमाणित नगर्ने उल्लेख गरिएको छ।
रास्वपा रौतहट जिल्ला समितिले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित व्यक्तिको वास्तविक पार्टीगत हैसियत, पद तथा आधिकारिक जिम्मेवारी यकिन गर्न आग्रह गरेको छ। साथै, कुनै व्यक्तिसँग सम्बन्धित कानुनी वा अनुसन्धानको विषयलाई पार्टीसँग जोडेर प्रस्तुत गर्दा त्यसको तथ्यगत र आधिकारिक आधारसमेत स्पष्ट गर्न आग्रह गरिएको छ।
पार्टीले सम्बन्धित घटनाको निष्पक्ष अनुसन्धान तथा प्रचलित कानुनी प्रक्रियाबाट टुंगो लाग्नुपर्नेमा समेत जोड दिएको छ। रास्वपा रौतहट जिल्ला समितिले कानुनको शासन, तथ्यमा आधारित पत्रकारिता र जिम्मेवार सञ्चारको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै घटनाको अनुसन्धानलाई सम्मान गर्ने जनाएको छ।
दुवै विज्ञप्तिमा कुनै व्यक्तिको व्यक्तिगत गतिविधि वा घटनालाई तथ्य पुष्टि नगरी राजनीतिक दलको आधिकारिक नेता वा पदाधिकारीसँग जोड्दा आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै संवेदनशील हुन आग्रह गरिएको छ।
रास्वपाले समाचारमा ‘रास्वपाका नेता’ भनेर भोला साहको परिचय प्रयोग गरिएको भए त्यससम्बन्धी विवरण सच्याई वास्तविक तथ्य सार्वजनिक गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ। पार्टीले भनेको छ—भोला साह पार्टीका समर्थक वा शुभेच्छुक हुन सक्ने विषय अलग भए पनि उनलाई रास्वपाको आधिकारिक नेता वा पदाधिकारीका रूपमा प्रस्तुत गर्ने आधार नरहेको उसको स्पष्टोक्ति छ।






