भारत रत्न सम्मानित लता मंगेशकरको जन्मजयन्ती समारोह सम्पन्न

भारत रत्न सम्मानित लता मंगेशकरको जन्मजयन्ती समारोह सम्पन्न

सविता झा /पटना १२ असोज 

विश्वकै चर्चित स्वरकी धनी तथा भारत रत्नबाट सम्मानित स्वरकोकिला लता मंगेशकरको जन्मजयन्तीको अवसरमा पटना सिटीस्थित जगदीश जग्गीको चौराहामा रहेको सरस्वती डिजिटल स्टुडियोमा संगीत श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्वराञ्जली संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रमको उद्घाटन नालन्दा कलेजको शिक्षा शास्त्र विभागका अध्यक्ष डा. ध्रुवकुमार, वरिष्ठ रंगकर्मी तथा प्रांगण नाटक संस्थाका सचिव अभय सिन्हा, मुख्य चिकित्सा पदाधिकारी तथा गायक डा. बसन्त पंचानन र वरिष्ठ साहित्यकार तथा कलाकार संघका अध्यक्ष आलोक चोपडाले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा बिहारका कला तथा साहित्यप्रेमी वरिष्ठ पत्रकार विश्वमोहन चौधरी ‘सन्त’ समेत विशेष रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन साहित्यकार नेक आलमले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले लता मंगेशकरको स्वरमा संघर्ष, संवेदना र जीवनप्रतिको गहिरो अनुभूति पाइने बताउनुभयो। उहाँहरूले लता मंगेशकर केवल एक गायिका मात्र नभई संगीतको विशाल विश्वविद्यालय नै भएको उल्लेख गर्नुभयो।

लता मंगेशकरका गीतहरूले मानिसलाई जीवनमा संघर्ष, मेहनत र कठिन परिस्थितिसँग जुध्दै अघि बढ्ने प्रेरणा दिएको अतिथिहरूको भनाइ थियो। उहाँको स्वर र संगीतको प्रभाव आज पनि विश्वभर उत्तिकै जीवन्त रहेको उनीहरूले बताए।

कार्यक्रमका क्रममा कलाकार तथा साहित्यकारहरूलाई ‘सरस्वती साधना सम्मान’ बाट समेत सम्मानित गरिएको थियो। सम्मानित हुनेहरूमा डा. ध्रुवकुमार, आलोक चोपडा, अहमद रजा हाशमी, अभय सिन्हा, डा. बसन्त पंचानन, आलोक चौबे, सिम्मी माला, अंकितकुमार, संजना सिन्हा, आकांक्षा चौबे, डोली सिंह, अभिषेक शुक्ला, देवांशु प्रीत, सतीशकुमार ‘बबलु’ र पप्पु गुप्ता लगायत रहेका थिए।

कार्यक्रमको सुरुवातमा उपस्थित कलाकार, साहित्यकार तथा अतिथिहरूले स्वर्गीय लता मंगेशकरको तस्वीरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि कलाकारहरूले लता मंगेशकरका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उहाँप्रति संगीत श्रद्धाञ्जली अर्पण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।