धनुषामा छठघाटका रक्षकको हत्या र सुनसरीमा पूजास्थल तोडफोडप्रति राष्ट्रिय एकता दलको आपत्ति

धनुषामा छठघाटका रक्षकको हत्या र सुनसरीमा पूजास्थल तोडफोडप्रति राष्ट्रिय एकता दलको आपत्ति

काठमाडौँ ३० कार्तिक 

राष्ट्रिय एकता दलले धनुषामा छठघाटको सुरक्षामा खटिएका एक वृद्धको निर्मम हत्या तथा सुनसरीमा छठ पूजास्थलमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

दलका केन्द्रीय कार्यालय प्रमुख रामकुमार पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा हिन्दू धर्मावलम्बीहरूको महान् आस्था एवं सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वका अवसरमा भएका यी घटनाले धार्मिक आस्था र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार धनुषाको मतौना छठघाटमा रातिको समयमा सुरक्षाका लागि खटिएका शहीदनगर नगरपालिका–२ निवासी करिब ६० वर्षीय रामजतन यादव (मनेजर) को निर्मम हत्या भएको घटनाले दललाई स्तब्ध बनाएको छ। धार्मिक स्थलको रेखदेखमा खटिएका नागरिककै हत्या हुनु राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती भएको दलको ठहर छ।

त्यस्तै, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न भएपछि मिति २०८३ कात्तिक २९ गते राति पूजास्थलमा तोडफोड भएको घटनाप्रति पनि दलले निन्दा गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको विषयलाई उल्लेख गर्दै निष्पक्ष छानबिनमार्फत दोष प्रमाणित भएमा कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय एकता दलले धनुषामा रामजतन यादवको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र सुनसरीको पूजास्थल तोडफोड घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग आग्रह गरेको छ।

यसका साथै देशभरका छठघाट, मठमन्दिर तथा अन्य धार्मिक स्थलहरूको सुरक्षा सुनिश्चित गर्न र धार्मिक आस्था एवं सामाजिक सद्भावमाथि आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पनि दलले माग गरेको छ।

विज्ञप्तिको अन्त्यमा दलले “धार्मिक आस्थामाथिको आक्रमण बन्द गर, नागरिकको सुरक्षा सुनिश्चित गर, पीडितलाई न्याय र दोषीलाई कारबाही गर” भन्ने माग अघि सारेको छ।

हत्या गरिएका रामजतन यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय एकता दलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।