कांग्रेस पर्सामा नयाँ नेतृत्व चयन, विजय कर्ण सर्वसम्मत निर्वाचित
कांग्रेस पर्सामा नयाँ नेतृत्व चयन, विजय कर्ण सर्वसम्मत निर्वाचित

वीरगञ्ज १० मंसिर
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साको आयोजनामा सम्पन्न जिल्ला भेलाबाट विजय कर्ण सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भेलामा सहभागी प्रतिनिधिहरूले कर्णलाई सर्वसम्मत रूपमा निर्वाचित गरेका हुन्।
वीरगञ्जमा आयोजित उक्त जिल्ला भेलामा नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता र विभिन्न पालिकाका पार्टी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी विशिष्ट अतिथिहरूमा विमलेन्द्र निधि, उमाकान्त चौधरी, प्रकाशशरण महत र राजेन्द्रबहादुर अमात्यको उपस्थिति रहेको थियो। जिल्ला भेला विजय कर्णको सभापतित्वमा सम्पन्न भएको थियो।
भेलामा नेपाली कांग्रेस पर्साका नेता–कार्यकर्ता तथा जिल्लाका विभिन्न पालिकाबाट आएका पार्टी प्रतिनिधिहरूले संगठनको वर्तमान अवस्था, सांगठनिक सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा र पार्टीलाई थप गतिशील तथा प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।
भेलाले विजय कर्णलाई सर्वसम्मत रूपमा निर्वाचित गरेसँगै पर्सामा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत र एकताबद्ध बनाउने अपेक्षा गरिएको छ।
सर्वसम्मत निर्वाचनले पार्टीभित्र आपसी एकता, सहमति र सहकार्यको सकारात्मक सन्देश दिएको वीरगञ्ज महानगर सभापति मनोज कुमार साहले जानकारी दिए।
उनका अनुसार पार्टीलाई थप संगठित, सुदृढ र जनतामाझ प्रभावकारी बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ।





