नेपालले थप १११.८ मेगावाट विद्युत् भारतमा निर्यात गरिने

नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा थप १११.८ मेगावाट बिजुली बिक्री गर्ने प्रस्ताव अघि बढाएको छ । प्राधिकरणकै विभिन्न चार आयोजनालाई स्रोत मानेर विद्युत् बिक्री गर्ने प्रस्ताव भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाइएको हो । भारतले यसअघि विभिन्न ६ आयोजनाको तीन सय ६४ मेगावाट विद्युत् आफ्नो बजारमा बिक्री गर्न प्राधिकरणलाई अनुमति दिइसकेको छ । सोहीअनुसार प्राधिकरणले अहिले दैनिक भारतीय बजारमा विद्युत् बिक्री गर्दै आएको छ । अब भारतले स्वीकृति दिएपछि थप विद्युत् निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले मिस्त्री खोलाको ४२ मेगावाट, लिखु खोला ‘ए’को २४.२ मेगावाट, सोलु खोलाको २३.५ मेगावाट र चिलिमेको २२.१ मेगावाट विद्युतलाई स्रोत मानेर कुल १११.८ मेगावाट विद्युत् बिक्री प्रस्ताव गरेको हो । ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदान–प्रदान गर्न निर्माण गरिएको एक सय ३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायलाई बिक्री गर्न छलफल भइरहेको छ,।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे–अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घन्टा विद्युत् निर्यात गरिन्छ ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ । एनभिभिएनले हरेक दिनको कारोबार विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।