प्रभु साहद्धारा जनकपुरमा निर्माण भईरहेका विकासका आयोजनाहरुको अनुगमन

जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व शहरी विकास मन्त्री प्रभु साहले विभिन्न आयोजनाको स्थलगत अनुगमन एवं निरिक्षण गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित सांसद समेत रहेका साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन शहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा शहरी विकास मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको पाइएको साहले जनाएका छन् ।
शहरी विकास मन्त्री हुँदा साहले सुरु गरेको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलोमीटर सड़क कालोपत्रे, ८० किलोमीटर नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भएको उनले प्रतिक्रिया दिएका छन् ।
आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल हुने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ ।
त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेको छ । त्यस्तै अहिले निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको छ । यसमा सरकारको गम्भीर ध्यान जान जरुरी रहेको साहले बताए ।
अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह तथा शहरी डिभिजन प्रमुख प्रदीप खनाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।