माओवादी संसदीय दलका नेता साहलाई पदबाट हटाउन दुई तिहाइ सांसदको अविश्वास प्रस्ताव

माओवादी संसदीय दलका नेता साहलाई पदबाट हटाउन दुई तिहाइ सांसदको अविश्वास प्रस्ताव

जनकपुरधाम २५ असार

नेकपा माओवादी मधेस प्रदेशका दुई तिहाइ प्रदेश सभा सदस्यहरूले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन अविश्वास प्रस्ताव पेश गरेका छन्।

दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले ६ जना सांसदले उनीविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन्। तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका छन्।

‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो। गुटबन्दीमा लाग्नुभयो, एकलौटी गर्नुभयो। एक दुई जना बाहेक उहाँले कसैको कुरा सुन्नुभएन,’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले भने, ‘पिएलएमबिएस सिस्टममा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको भनी उहाँले वाहियात दोषारोपण गर्नुभयो जबकि त्यसमा उहाँले नै धेरै चलखेल गर्नुभएको हो।’

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने माओवादी संसदीय दलको विधानमा उल्लेख छ।

उक्त प्रस्तावबारे पूर्व सूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ।

लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन्।

उक्त बैठकबाट बहुमत सदस्यले साहलाई दलको नेताबाट हटाएर अर्का नेतालाई दलको नेता तोक्ने तयारी छ।

उपमहासचिव  मातृकाप्रसाद यादव निकट रहेका साहबाट लामो समयदेखि संसदीय दलमा असन्तुष्टि छ।

सरकारमा जाँदा अरूलाई अवसर नदिई पटक पटक आफू मात्र मन्त्री बनेको उनीमाथि आरोप छ।

‘केन्द्रीय नेतृत्वलाई समेत थाहा नदिई उहाँले तत्कालीन जसपा नेतृत्वको सरकार ढालेर आफू मुख्यमन्त्री बन्न भारतको सुरसण्डमा दलहरूसँग गोप्य बैठक गर्नुभयो। सांसदहरूलाई समेत यो कुरा बताउनुभएन। त्यसबेलादेखि अध्यक्षज्यू उहाँसँग अझै बढी रिसाउनुभयो। सबैलाई मिलाएर पनि लान भन्नुभयो तर उहाँले एकलौटी मात्र गर्नुभयो। यो प्रस्ताव त्यहीँ गतिविधिहरूको नतिजा हो,’ अर्का एक सांसदले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।