पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु
पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

लाहोर, पाकिस्तान —मध्यपाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ । दक्षिणी सिन्ध र मध्यपञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि संगठित अपराधका गिरोहहरू सक्रिय छन् ।
‘आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्’ प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताए ।
पञ्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो ।
अपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताए । आक्रमणका मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । ‘अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरेको थियो । तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरि सक्रिय भएका छन् ।






