पत्रकारिता पढनेहरुको लागि सुनौलो अवसर, नेपाल पत्रकार महासंघ पर्सा र वीरगंज कलेज बीच सात बुँदे सम्झौता

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा र वीरगंज कलेज श्रीपुर बीच बिहिबार विभिन्न सात बुँदे सम्झौता भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा एक कार्यक्रमका बिच पत्रकारिकताको विकासका लागि पत्रकार महासंघ पर्सा र वीरगंज कलेज बीच विभिन्न सात बुँदे सम्झौता भएको हो ।
सम्झौता पत्रमा पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनितिक क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने, पर्सा जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि दुवै पक्षको सहकार्यमा विभिन्न बहस, अन्तरक्रिया गरिने उल्लेख गरिएको छ ।
पर्सा जिल्लाको पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने, जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता वृद्धिका लागि वीरगंज कलेजमा सञ्चालित पत्रकारिता विषयमा अध्ययनको व्यवस्था मिलाइने पनि दुवै पक्ष बीच सम्झौता भएको पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए ।
पत्रकारिता अध्ययन गर्न चाहने सदस्य एवम् सञ्चारकर्मीहरुलाई वीरगंज कलेजले प्रतिवर्ष पाँच हजारमा कक्षा ११ र १२ वीरगंज कलेज मार्फत अध्ययन गराउने भएको छ । त्यसमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क विद्यार्थीले वहन गर्नुपर्ने छ ।
दुवै पक्षले आवश्यकता अनुसार स्थानीय अन्य सरोकारहरुको सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । समझदारीको समयावधि चालु शैक्षिक सत्र देखि तीन शैक्षिक सत्रसम्म रहनेछ । आवश्यकता अनुसार दुवै पक्षको समझदारीमा अवधि थप गर्न सकिने समझदारी पत्रमा जनाईएको छ ।
समझदारी पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष ओमप्रकाश खनाल र वीरगंज कलेजेको तर्फबाट कलेका संचालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले हस्ताक्षर गरेका थिए ।
सो अवसरमा पत्रकार महासंघ पर्साका महिला उपाध्यक्ष निलिमा पौडेलले सम्झौता पत्र पढी सहभागी पर्सेली पत्रकारहरुलाई सुनाएकी थिईन । सो कार्यक्रमको सञ्चालन सचिव बिजय चौहानले गरेका थिए ।






