वीरगञ्ज जेसीजद्वारा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न, ८० जनाले सेवा लिए

वीरगञ्ज जेसीजद्वारा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न, ८० जनाले सेवा लिए

वीरगंज ४ जेष्ठ

समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा क्रियाशील संस्था वीरगञ्ज जेसीजले शनिबार वीरगञ्जको अमरचोकस्थित समाज सेवा समिति भवनमा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।

समुदायमा मौखिक स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले आयोजित उक्त शिविरमा ८० जनाले सेवा लिएका छन्। शिविरमा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेलले सहभागीहरूलाई दन्त परीक्षण, उपचार सल्लाह, सरसफाइका उपाय तथा नियमित स्वास्थ्य परीक्षणबारे जानकारी प्रदान गरेका थिए।

कार्यक्रम वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा वडा सदस्य मनोज साह, बिरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, समाजसेवी सन्तोष खनाल, सेराज अन्सारीलगायत बिरगञ्ज जेसीजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष सरोज चौरसियाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “स्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि हो। हाम्रो उद्देश्य जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउनु हो, जसअनुरूप सर्वसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराइएको हो।”

प्रमुख अतिथि प्रदीप चौरसियाले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा जेसीजको सक्रियता सराहनीय रहेको भन्दै यस्ता कार्यक्रमहरूले नागरिक स्वास्थ्य सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

शिविरमा सहभागी लाभग्राहीहरूले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

वीरगञ्ज जेसीजले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।