मौलापुर नगरपालिकालाई ‘बेष्ट म्युनिसिपालिटी अन एजुकेशन अवार्ड’ प्रदान

पोखरा २३ जेष्ठ । रौतहटको मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट अवार्डबाट आज पुरस्कृत भएको छ । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)द्धारा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।
पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्यांकन गर्दा मेयर रिनाकुमारी साह नेतृत्वको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ ।
पर्यटकीय नगरी पोखरामा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२ को अवसरमा मेयर साहलाई यो उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाल सरकारका शिक्षामन्त्री रघुजी पन्तले मेयर साहलाई प्रदान गरेका हुन् ।
मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । देशका अन्य पालिकामा नगरप्रहरी राख्ने होडबाजी चल्दैगर्दा मौलापुरमा नगरप्रहरी एक जनामा पनि छैन् । मौलापुरमा नगरप्रहरीको साटो नगर शिक्षकको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् ।
नगर प्रहरीको सट्टा नगर शिक्षक राखेर शैक्षिक क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको उनले बताए । एसईई परीक्षामा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको मौलापुर नगरपालिकालाई आज यस प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा देशभरिका शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलगयात एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।
मौलापुरका मेयर रिनाकुमारी साह आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका श्रीमती हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी छन् । रौतहट ३ का सांसद समेत रहेका आजपा अध्यक्ष साह र मेयर रिनाकुमारीको विशेष पहलमा मौलापुरमा शिक्षा क्षेत्रमा प्रभावकारी एवं उत्कृष्ट काम हुदै आएको प्रशासकीय अधिकृत साहले जनाएका छन् ।
एसईई परिक्षामा देशभरी ४४ प्रतिशत र मधेसमा ३० प्रतिशत मात्रै विद्यार्थी उतिर्ण हुदैगर्दा मौलापुरमा ७५ प्रतिशतभन्दा बढी विद्यार्थी उतिर्ण भएका थिए । रौतहट सहित मधेस प्रदेश नै मानव विकास सहित शिक्षा क्षेत्रमा पछाडी परेको भन्दै गिज्याउने काम हुँदै आएको छ । तर आजपा अध्यक्ष साहले नगरमा नगर प्रहरीको साटो नगर शिक्षकको व्यवस्थामा जोड दिदै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिनुपर्ने उदेश्य सहित अगाडी बढेकाले मौलापुर शिक्षा क्षेत्रमा उत्कृष्ट घोषित भएको हो ।
मौलापुर नगरपालिका शिक्षामा मात्रै उत्कृष्ट नभई अन्य कामले समेत देशैभरी चर्चाको शिखरमा रहेको छ । मौलापुरले लिएको शुन्य कर नीतिले समेत चर्चा रहदै आएको छ । मेयर साहकै पहलमा त्यहाँ कुनै प्रकारको कर लाग्दैन् । नागरिकले कर तिर्नुपदैन् । यसका साथै मौलापुर नगरपालिकाले नै कृषक, सर्वसधारण सहित आम जनताको विधुत, पानीको महशुल समेत बर्षेनी करोडौ रुपैया बुझाउदै आएको छ ।
यस्तै छोरीहरुको विहेमा ३० हजार नगद सहयोग समेत मौलापुरले गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, यातायात, लगायतका क्षेत्रमा मौलापुर नगरपालिका एक उत्कृष्ट रहेको छ । मौलापुरमा मेयर साह लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित हुने मधेसकै पहिलो नेतृहुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।