जातिवादी राजनीति र तानाशाही प्रवृत्तिका कारण नेताहरू चुनावी मैदानमा पराजित
जातिवादी राजनीति र तानाशाही प्रवृत्तिका कारण नेताहरू चुनावी मैदानमा पराजित

वीरगंज २१ माघ
वर्तमान राजनीतिक परिवेशमा पार्टीका अध्यक्ष, राष्ट्रिय अध्यक्षदेखि विभिन्न तहका नेता–कार्यकर्ताहरूले चुनावी हार व्यहोर्नुका पछाडि जातिवादी सोच र तानाशाही प्रवृत्ति मुख्य कारण बनेको देखिएको छ।
जातिवादलाई अग्रपंक्तिमा राख्दै हुकुमी शासन लाद्ने, भ्रष्टाचार र दुराचारमा लिप्त हुने, तथा सामुदायिक गरिब, दलित र पछाडि पारिएका वर्गहरूलाई डर, धम्की र दमन गर्ने प्रवृत्तिले जनविश्वास गुमाएको विश्लेषण गरिएको छ।
राजनीतिक शक्ति र पहुँचको दुरुपयोग गर्दै प्रहरी–प्रशासन लगायत राज्यका निकायलाई नियन्त्रणमा राखी जिल्ला, प्रदेश र गाउँ समाजमा कार्यकर्तामार्फत तानाशाही लादिएको आरोपसमेत जनस्तरमा उठिरहेको छ।
यसै सन्दर्भमा यादव तथा साह समुदायका केही नेताहरूले जातिवादी राजनीति गर्ने, आम जनतामाथि हुकुमी व्यवहार देखाउने, आफ्नै कार्यकर्तालाई गलत ट्याग लगाउने र नयाँ कार्यकर्ता बनाउने नाममा पुराना कार्यकर्तालाई बहिष्कार गर्ने प्रवृत्तिका कारण पराजय व्यहोर्नुपरेको बताइन्छ।
त्यसैगरी गरिब, दलित र सिमान्तकृत समुदायबीच द्वन्द्व सिर्जना गर्ने, समाज फोडेर शासन गर्ने ‘डिभाइड एण्ड रुल’ नीति, तथा युवा नेताहरूको गुन्डा शैलीको व्यवहारले पनि जनआक्रोश बढाएको छ।
विश्लेषकहरूका अनुसार यस्ता प्रवृत्ति निरन्तर रहे यादव नेताहरूको राजनीतिक भविष्य नै संकटमा पर्न सक्छ।
राजनीतिक विश्लेषकको धारणा अनुसार अब यादव नेताहरूले ब्राह्मणी प्रवृत्ति र राजपुती ठाट त्याग्दै लचिलो, समावेशी र समान भावनाका साथ सबै जाति–समुदायलाई एकतामा बाँध्ने नीति अवलम्बन गरे मात्र सकारात्मक परिवर्तन र जनविश्वासको पुनःस्थापना सम्भव हुने देखिन्छ।






