घण्टी छापमा मतदानको अपिल गर्दै सुशील कानुको पर्सागढी घरदैलो, जंगली जनावर क्षति प्रमुख मुद्दा
घण्टी छापमा मतदानको अपिल गर्दै सुशील कानुको पर्सागढी घरदैलो, जंगली जनावर क्षति प्रमुख मुद्दा

वीरगञ्ज, १० फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ बडेर्वा, तेलिया तथा वडा नम्बर–७ फुलवारीयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए। देशलाई सही दिशामा डोर्याउन घण्टी छापमा मतदान गर्न आग्रह गर्दै उनले भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानुले प्रजातन्त्र स्थापनापछि विभिन्न दलहरूले भ्रष्टाचारमार्फत मुलुकको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाउँदै अब परिवर्तन आवश्यक रहेको बताए। उनले स्थानीयस्तरमा दीर्घकालीन रूपमा देखिएका समस्या, तिनका कारण र समाधानका उपायबारे खुला छलफल गरेका थिए।
निर्वाचित भएपछि महिलाहरूका लागि कृषि तथा पशुपालनसँग सम्बन्धित प्राविधिक तालिम, सिलाइ–कटाइ जस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बनाउने योजना उनले प्रस्तुत गरे। यसले पारिवारिक आम्दानी वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
घरदैलोका क्रममा स्थानीयले कृषि क्षेत्रमा जंगली जनावरबाट हुने क्षतिलाई प्रमुख समस्याका रूपमा उठाएका थिए। कानुले प्रभावकारी नीति निर्माण, उचित क्षतिपूर्ति र दीर्घकालीन समाधानका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी स्थानीयवासीले कानुलाई नयाँ सोच र स्पष्ट योजनासहित जनतामाझ आउने उम्मेदवारका रूपमा उल्लेख गर्दै परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।






