डोकैला चौकमा झाँक्रीको अपिल: “मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराऔँ”

डोकैला चौकमा झाँक्रीको अपिल: “मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराऔँ”

वीरगञ्ज १० फागुन

रामकुमारी झाँक्री ले मधेशमा वास्तविक परिवर्तन चाहने हो भने पर्सा–२ की उम्मेदवार रीमा कुमारी यादव लाई विजयी गराउनुपर्ने बताउनुभएको छ।
नेकपा एमाले पर्साले पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिकाको डोकैला चौकमा आयोजना गरेको चुनावी भेला तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य झाँक्रीले सक्षम नेतृत्वबाटै मधेशको विकास र अधिकार सुनिश्चित हुने धारणा व्यक्त गर्नुभयो।

“चार दिवार तोडेर मधेशकी छोरी–बुहारी राजनीतिमा आएकी छिन्। फागुन २१ गते हुने यो चुनाव रीमा यादवको मात्र होइन, तपाईँ सबैको चुनाव हो। आफ्नै छोरी–बुहारीलाई नेतृत्वमा पुर्‍याउन उहाँलाई विजयी गराउनुस्,” झाँक्रीले भन्नुभयो।

उहाँले महिलालाई नेतृत्वमा पुर्‍याए मात्र मधेशको आवाज सशक्त रूपमा उठ्ने उल्लेख गर्दै युवाले खोजेको उम्मेदवार एमालेले दिएको दाबी गर्नुभयो। “तपाईँहरूको हरेक मुद्दा—पहिचान, अधिकार, विकास र सम्मान—अब काठमाडौँसम्म पुर्‍याउनुपर्छ। त्यसका लागि हामी रीमा यादवसँग हातेमालो गरेर सहयोग गर्नेछौँ। उहाँ सक्षम र साहसी सांसद बन्ने उम्मेदवार हुनुहुन्छ,” झाँक्रीको भनाइ थियो।

झाँक्रीले पर्सा–२ का मतदातालाई परिवर्तनका पक्षमा मतदान गर्न आग्रह गर्दै रीमा यादव संसदमा पुगे मधेशका मुद्दा प्रभावकारी रूपमा उठाइने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।