पराजयको पराकाष्ठा र नेतृत्वको नैतिकता : गगनले नैतिकतामा मगन, अरुहरुको खोई ? - डा. विजय दत्त
पराजयको पराकाष्ठा र नेतृत्वको नैतिकता : गगनले नैतिकतामा मगन, अरुहरुको खोई ? - डा. विजय दत्त

पृष्ठभूमि: परिवर्तनको महासंग्राम
२०८२ फागुन २१ गते सम्पन्न निर्वाचन नेपाली राजनीतिक इतिहासको एउटा यस्तो प्रस्थानविन्दु बन्यो, जसले दशकौँदेखि जरा गाडेर बसेका स्थापित शक्ति संरचनालाई जरैदेखि हल्लाइदिएको छ । निर्वाचन आयोगमा दर्ता भएका ६८ दलमध्ये ६ दलले मात्र राष्ट्रिय मान्यता पाउनुले नेपाली मतदाता अब “दल” को नाममा होइन, “डेलिभरी” को नाममा उभिएका छन् भन्ने प्रष्ट पार्छ । ६२ वटा दलको सडकमा पुग्नु र विशेषगरी मधेश आश्रितदलहरूको अस्तित्व संकटमा पर्नुले क्षेत्रीय राजनीतिको परम्परागत एजेन्डा सकिएको संकेत गर्छ ।
प्रसिद्ध दार्शनिक सुकरातले भनेका थिए:
”The secret of change is to focus all of your energy, not on fighting the old, but on building the new.”
यस निर्वाचनमा नेपाली जनताले पनि ‘पुरानोलाई भत्काउन’ भन्दा पनि ‘नयाँ बनाउन’ आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको देखिन्छ ।
१. नेपाली कांग्रेस: समयोचित रुपान्तरणको प्रतिफल
नेपाली कांग्रेसले निर्वाचन अगावै आफ्नो नेतृत्वमा गरेको फेरबदल र युवा पुस्तालाई अगाडि सार्ने हिम्मत गर्नाले नै आज यो दल ३८ सिटसहित दोस्रो ठूलो दलको रूपमा सुरक्षित छ । लोकप्रिय मत जोगाउन सफल हुनुको मुख्य श्रेय नेतृत्व परिवर्तन र आत्मसमीक्षालाई जान्छ । यदि पुरानै नेतृत्वको जिद्दी कायम रहेको भए कांग्रेसको हविगत पनि ‘एकल अंक’ मा खुम्चिने निश्चित थियो भन्ने जनभावना रहेको छ ।
२. नेकपा (एमाले): अहंकारको असामयिक अवसान र ऐतिहासिक क्षति
२००६ सालदेखि संगठित भएको र २०७९ सम्म आइपुग्दा २८% लोकप्रिय मतसहित ७८ सिट प्राप्त गरेको एमाले आज २५ सिटमा खुम्चिनु राजनीतिक इतिहासकै सबैभन्दा दुखद घटना हो । प्रत्यक्षतर्फ मात्र ९ सिटमा सीमित हुनुले एमालेको ‘संगठनको शक्ति’ र ‘नेतृत्वको दम्भ’ लाई जनताले पूर्णतः नकारेको पुष्टि हुन्छ ।
संस्कृतमा एउटा भनाइ छ:
”विनाशकाले विपरीत बुद्धिः”
(अर्थात्: जब विनाशको समय नजिक आउँछ, तब विवेकले काम गर्न छोड्छ र मानिस गलत निर्णय लिन पुग्छ ।)
एमालेको नेतृत्वले आफूलाई ‘सुकेको वृक्ष’ जस्तै अक्कड बनायो । न त यसले नयाँ पुस्ताको विद्रोहलाई बुझ्न सक्यो, न त बदलिँदो वैश्विक र स्थानीय परिवेशलाई । कांग्रेस र माओवादीले जस्तो आत्मलोचना र आत्ममूल्यांकन नगर्नु नै एमालेको लागि ‘वाटरलु’ साबित भयो ।
एमालेको चुनावी ओरालो यात्रा (तथ्यांकमा):
| निर्वाचन वर्ष | सिट संख्या | मत प्रतिशत (लगभग) |
| :— | :— | :— |
| २०४८ | ८३ | ३२% |
| २०७४ | ६४ | ३३% (वाम गठबन्धन सहित ४८%) |
| २०७९ | ७८ | २८% |
| २०८२ | २५ | १२% (लोकप्रिय मतदान मात्रै १३% |
यो तथ्यांकले के देखाउँछ भने, नेतृत्वको संवेदनहीनता र ‘दास’ बनाउने प्रवृत्तिले एउटा जीवन्त पार्टीलाई ‘लाश’ मा परिणत गरिदिएको छ ।
३. रास्वपाको सुनामी: जनताको दुईतिहाइ म्यान्डेट
२०७९ को निर्वाचनमा जम्मा २१ स्थानमा समेटिएका तथा लोकप्रिय मत जम्मा ११ लाख ल्याएका यो पार्टी स्थापनाको चारबर्षमै मतरुपी सुनामी नै ल्याएको छ ।
२०८२ को निर्वाचनको वास्तविक विजेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । २७५ मध्ये १८२ सिट जित्नु कुनै सामान्य लहर होइन, यो त ‘राजनीतिक सुनामी’ हो । धनुषा १ पार्टीकै उम्मेदवार देखि म्याग्दीसम्म (जहाँ रास्वपा समर्थित स्वतन्त्र उम्मेदवार विजयी भए), जनताले परम्परागत दलहरूको विकल्पलाई अनुमोदन गरेका छन् ।
यो विजयले म्याकियाभेलीको सिद्धान्तलाई चुनौती दिएको छ, जहाँ उनले शक्ति प्राप्तिका लागि छल र बलको कुरा गरेका थिए । तर रास्वपाको हकमा अमेरिकी राजनीतिज्ञ अब्राहम लिङ्कनको यो भनाइ चरितार्थ हुन्छ:
”Government of the people, by the people, for the people, shall not perish from the earth.”
४. नेतृत्वको नैतिकता: राजिनामा कि रसातल ?
निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको नेतृत्वले नैतिकताको आधारमा राजिनामा दिने घोषणा गर्नुले लोकतान्त्रिक संस्कारको एउटा झिल्को देखाएको छ । तर, एमाले नेतृत्व भने अझै पनि हारको दोष अरूमाथि थोपर्दै सचिवालय बैठक तथा अरुकै समिक्षामा रमाइरहेको छ ।
यहाँ प्रश्न उठ्छ: नेतृत्वले पार्टीलाई रसातलमा पुर्याउँदा पनि पदमा टाँसिरहनु कुन प्रकारको नैतिकता हो? के उनीहरू डढेर खरानी भइसकेको घरको खरानी घसेर आफूलाई अझै पनि मालिक ठानिरहेका छन् ?
संस्कृतको यो नीति श्लोक यहाँ सान्दर्भिक देखिन्छ:
”त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत् ।”
(अर्थात्: कुलको हितका लागि एक व्यक्तिको त्याग गर्नुपर्छ, र गाउँको हितका लागि कुलको त्याग गर्नुपर्छ ।)
यदि एमाले बचाउनु छ भने नेतृत्वले अविलम्ब त्याग गर्नुपर्छ ।
५. श्रम संस्कृति पार्टी र नेकपाको अवस्था
श्रम संस्कृति पार्टीले पहिलो प्रयासमै राष्ट्रिय पार्टीको मान्यता पाउनुले नेपाली राजनीतिमा “पहिचान र काम” को राजनीति सुरु भएको संकेत गर्छ । यता नेपाली कम्युनिस्ट पार्टी (माओवादी लगायत) को अवस्था भने महाभारतको युद्धमा अश्वत्थामाको जस्तै भएको छ— “अश्वत्थामा हतोहतः, नरो वा कुञ्जरो” । अर्थात्, उनीहरू न त पूर्ण रूपमा मासिएका छन्, न त पूर्ण रूपमा जीवित नै छन् । अस्तित्वको लडाइँमा उनीहरू निकै कमजोर भएका छन् ।
६. निष्कर्ष र अबको बाटो
२०८२ को निर्वाचनले दिएको सन्देश प्रष्ट छ: जनता अब कसैको दास बन्न तयार छैनन् । परम्परागत दलहरूले यदि पुनर्जीवन चाहने हो भने उनीहरूले निम्न कदम चाल्नु अनिवार्य छ:
नेतृत्वको बहिर्गमन: असफल र दम्भी नेतृत्वले तत्काल निकास दिनुपर्छ ।
पुस्तान्तरण: ६० देखि ७० वर्ष माथिको नेतृत्वलाई विदा गरि युवा जोश र आधुनिक चेत भएका नेतृत्वलाई लगाम सुम्पिनुपर्छ ।
विचारको पुनर्गठन: पुराना र असान्दर्भिक भइसकेका वादहरू (Isms) भन्दा पनि डेलिभरी र सुशासनमा केन्द्रित हुनुपर्छ ।
अन्त्यमा, अल्बर्ट आइन्स्टाइनको एउटा प्रसिद्ध भनाइ छ:
”Insanity is doing the same thing over and over again and expecting different results.”
एउटै अनुहार, एउटै कार्यशैली र एउटै अहंकार बोकेर अर्को निर्वाचनमा सुखद परिणामको आशा गर्नु पागलपन बाहेक केही हुने छैन । यदि एमाले र अन्य शक्तिहरूले समयमै आत्मसमीक्षा गरेनन् भने, २०८७ सम्म पुग्दा उनीहरू इतिहासको पानामा मात्र सीमित हुनेछन् ।
यसमा विजयी स्वतन्त्र उम्मेदवार डा.महाबीर पुन अनुसार यी पुरातन नेताले दम्भ र अहंकार नदेखाएको भए “म” कसरी जित्थे र जनता कसिलो सत्य कसरी बुझ्थ्ये ?






