स्वकीय सचिव सत्यराज घिमिरे अदालत परिसरबाट प्रहरी नियन्त्रणमा

स्वकीय सचिव सत्यराज घिमिरे अदालत परिसरबाट प्रहरी नियन्त्रणमा

वीरगञ्ज १८ जेठ

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जारी पक्राउ पुर्जी प्रकरण थप चर्चामा आएको छ। यसै क्रममा मेयरका स्वकीय सचिव सत्यराज घिमिरे लाई सोमबार पर्सा जिल्ला अदालत परिसरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ।

प्रहरी स्रोतका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर को नेतृत्वमा खटिएको टोलीले घिमिरेलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो। घिमिरे मेयर सिंहविरुद्ध जारी पक्राउ पुर्जीसम्बन्धी कानुनी प्रक्रिया बुझ्न अदालत पुगेका बेला उनलाई सोधपुछका लागि लगिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले घिमिरेलाई पक्राउ नगरिएको स्पष्ट पार्दै मेयर सिंहसँग सम्बन्धित केही विषयमा जानकारी लिनका लागि मात्र बोलाइएको बताएका छन्। उनका अनुसार आवश्यक सोधपुछ जारी छ।

यसअघि नागरिकता तथा सरकारी लिखतसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पर्सा जिल्ला अदालतले गत जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको भोलिपल्ट मेयर सिंह आफैँ अदालतमा उपस्थित भएका थिए। उनले न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालत पुगेको बताएका थिए। तर मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसकेपछि अदालत प्रशासनसँग समन्वय गरी फर्किएको उनको भनाइ थियो।

अदालतले मेयर सिंहसँगै उनकी कान्छी श्रीमती रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

उक्त मुद्दामा रिता भट्टराईकी छोरी रुविना श्रेष्ठ लाई आफ्नै छोरीका रूपमा देखाई फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप लगाइएको छ। यद्यपि मेयर सिंहले रिता भट्टराई आफ्नी दोस्रो पत्नी भएको दाबी गर्दै आएका छन्।

सरकारी वकिल कार्यालयका अनुसार लियाकत अली ले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा चारवटा मुद्दा दर्ता भएका छन्, जसमध्ये लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।