कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता
कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता

काठमाडौं २८ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा चितवनका अमृत गुरुङ निर्वाचित भएका छन्। जनजाति पुरुषतर्फ १२ पदका लागि भएको प्रतिस्पर्धामा गुरुङले १ हजार ६८९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार जनजाति पुरुषतर्फ सबैभन्दा बढी मत तीर्थ लामाले ४ हजार ४२५ प्राप्त गरेका छन्। त्यसैगरी ई अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएका छन्।
चितवनको राजनीतिक पृष्ठभूमिबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका गुरुङले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नलिई आफूलाई विश्वास गर्ने साथीहरूको साझा उपलब्धि र थप जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै गुरुङले आगामी दिनमा विशेषगरी युवा,जेनजि र जनजातीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफू पनि युवा भएकाले युवाका भावना, आवश्यकता, सम्भावना र चुनौतीलाई नजिकबाट बुझेको उल्लेख गर्दै उनले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउन पहल गर्ने बताएका छन्।
“मलाई विश्वास गरेर निर्वाचित गराउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो जितले मलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा युवाका लागि धेरै काम गर्ने मेरो प्रतिबद्धता छ,” गुरुङले भने।
उनले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन पुस्ताबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुराना नेताहरूको अनुभव र योगदानको सम्मान गर्दै युवासँग हातेमालो गरेर अघि बढ्ने बताए। उनका अनुसार राजनीतिमा अनुभव र ऊर्जाको संयोजनले संगठनलाई थप गतिशील बनाउन मद्दत गर्नेछ।
गुरुङले अग्रजहरूको मार्गदर्शनलाई आत्मसात् गर्दै युवाको सोच, सिर्जनशीलता र क्षमतालाई पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा जोड्नुपर्ने धारणा राखेका छन्। युवालाई अवसर र जिम्मेवारी प्रदान गर्दै उनीहरूको क्षमता उपयोग गर्न सके पार्टीलाई थप प्रभावकारी बनाउन सकिने उनको विश्वास छ।
चितवनबाट सुरु भएको आफ्नो राजनीतिक यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै केन्द्रीय तहसम्म आइपुगेको उल्लेख गर्दै गुरुङले यो यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आगामी दिनमा पार्टीका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र शुभेच्छुकसँग निरन्तर सहकार्य तथा समन्वय गर्दै अघि बढ्ने बताएका छन्।
उनले निर्वाचनमा फरक फरक उम्मेदवारलाई समर्थन गरेका सबैलाई समेटेर पार्टीको एकता र संगठन सुदृढीकरणमा योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। गुरुङका अनुसार निर्वाचनको प्रतिस्पर्धा समाप्त भएसँगै अब सबैको साझा लक्ष्य पार्टीलाई बलियो बनाउने र जनताको अपेक्षाअनुसार काम गर्ने हुनुपर्छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहको मतगणना सम्पन्न भएसँगै जनजाति पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिलातर्फ ३४ र पुरुषतर्फ ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
केन्द्रीय सदस्यमा निर्वाचित गुरुङले प्राप्त मत र विश्वासलाई संगठनप्रतिको जिम्मेवारी पूरा गर्ने आधारका रूपमा लिँदै आगामी दिनमा अग्रजको सम्मान, युवासँग सहकार्य र पार्टीको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन ।






