कटहरिया नगरपालिकाका महिला स्वयंसेविकाको गुनासो : एक वर्षदेखि भत्ता नपाएको आरोप

कटहरिया नगरपालिकाका महिला स्वयंसेविकाको गुनासो : एक वर्षदेखि भत्ता नपाएको आरोप

राैतहट १ असार

राैतहटको कटहरिया नगरपालिकामा कार्यरत महिला स्वयंसेविकाहरुले लामो समयदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेका छन्। नगरपालिकाको विभिन्न टोलमा कार्यरत महिला स्वयंसेविकाहरुले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाउँदै विगत एक वर्षदेखि भत्ता नपाएको गुनासो गरेका हुन्।

महिला स्वयंसेविकाहरुका अनुसार विभिन्न तालिममा सहभागी भएबापत पाउनुपर्ने भत्ता, साथै बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाएबापतको प्रोत्साहन रकम समेत हालसम्म नपाइएको बताएका छन्।

स्वयंसेविका गरिजा देवीले पछिल्लो एक वर्षदेखि आफूहरुले स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिँदै आए पनि सरकारले उपलब्ध गराउने भनिएको प्रोत्साहन भत्ता नपाएको बताइन्। उनले आफूहरुको श्रमको उचित मूल्यांकन हुनुपर्ने माग समेत गरेकी छन्।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय राैतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

महिला स्वयंसेविकाहरुका अनुसार ५६ जना स्वयंसेविकाको करिब ४७ हजार ४ सय रुपैयाँ बराबरको भत्ता अझै बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नहुँदा दैनिक जीविकोपार्जनमा समेत समस्या परेको उनीहरुको गुनासो छ।

स्वास्थ्य सेवाको आधारस्तम्भको रुपमा गाउँ–टोलमा सक्रिय महिला स्वयंसेविकाहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।