अरस्तुको पागलपन,ज्ञान र नेपालको राजनीति: डा.विजय दत्त

अरस्तुको पागलपन,ज्ञान र नेपालको राजनीति: डा.विजय दत्त

दार्शनिकहरूको संसारमा अरस्तुको नाम केवल प्राचीन ग्रीसको इतिहासमा सीमित छैन। उनी आज पनि ज्ञान, तर्क र चिन्तनका प्रतीकका रूपमा स्मरण गरिन्छन्। एउटा प्रसिद्ध प्रसङ्ग छ कि –
एकदिन अरस्तु समुद्र किनारैकिनार हिँडिरहेका थिए। उनले देखे”एकजना मानिस चम्चाले समुद्रको पानी उठाउँदै बालुवामा खनेको सानो खाल्डोमा हालिरहेको थियो ” । ऊ बारम्बार समुद्र र खाल्डोबीच दौडिरहेको थिए । धेरै बेरसम्म त्यो दृश्य हेरेपछि अरस्तुले आफूलाई रोक्न सकेनन्। अनि सोधि हाले –
“के गर्दैछौ तिमी?”

ती मानिसले सहज उत्तर दियो, “समुद्रको सबै पानी यो खाल्डोमा भर्दैछु नि ।
अरस्तु हाँसे। “यो त असम्भव कुरा हो। एउटा चम्चाले समुद्र सुकाउन सकिन्छ ? अनि सानो खाल्डोमा समुद्र कसरी अट्न सक्छ?”

त्यो मानिस मुस्कुरायो। पसिना पुछ्दै भन्यो, “यदि तिमी आफ्नो सानो मस्तिष्कमा सम्पूर्ण ब्रह्माण्डका स्रष्टालाई अटाउन सक्छौ भने, म पनि यो समुद्रलाई खाल्डोमा अटाउन सक्छु नि ।

क्षणभरका लागि अरस्तु निःशब्द भए। उनले बुझ्न खोजिरहेको ज्ञानभन्दा ठूलो सत्य कहिलेकाहीँ एउटा ‘पागल’ को वाक्यमा पनि लुकेको हुन्छ ।

आज नेपालको राजनीति हेर्दा यो कथा बारम्बार सम्झिदा पनि कमै हुन्छ ।
नयाँ सरकार बनेको छ। जनताले आशा गरेका छन्—भ्रष्टाचार अन्त्य होस्, सुशासन स्थापित होस्, राज्यका स्रोतहरूमा माफियाको कब्जा हटोस्। सरकार पनि यही संकल्पका साथ अघि बढेको देखिन्छ। यसै क्रममा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, मन्त्री, उच्च कर्मचारी, व्यापारी, व्यवसायी र विभिन्न शक्ति केन्द्रसँग जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान र कारबाहीका श्रृंखला चलिरहेका छन्।कैयौं मानिस समातिए तर अदालतको आदेशमा छाडिएका छन् । प्रक्रिया नपुेर । प्रश्न उठ्नु स्वभाविक हो कि प्रक्रिया किन पुर्याएनन ।

अर्को प्रश्न उठ्छ—के नेपालका सबै विकृति, विसंगति र भ्रष्टाचारीलाई केही गिरफ्तारी र केही मुद्दाले मात्र अन्त्य गर्न सकिन्छ?

नेपालको समस्या कुनै एक व्यक्ति, एक दल वा एक सरकारको समस्या होइन। यो त दशकौँदेखि राजनीति, प्रशासन, व्यापार, दलाल पुँजी, कर्मचारीतन्त्र र सामाजिक संस्कृतिको जालोमा गाँसिएको संरचनागत समस्या हो। समुद्रजस्तै विशाल समस्यालाई चम्चाले खाल्डोमा हाल्न खोजेझैँ केवल केही व्यक्तिलाई समातेर सम्पूर्ण प्रणाली शुद्ध हुने अपेक्षा गर्नु पनि सजिलो कुरा पक्कै होइन।

यसको अर्थ अपराधीलाई कारबाही गर्नु हुँदैन भन्ने होइन। कानुनभन्दा माथि कोही हुनु हुँदैन। तर कारबाही न्यायका लागि हुनुपर्छ। राज्यले व्यक्तिलाई मात्र होइन, अपराध जन्माउने संरचनालाई पनि बदल्न सक्नुपर्छ।

नेपालको इतिहासले पनि यस्तै पाठ सिकाउँछ। २०१५ सालको दुई तिहाइ सरकार, २०५२ सालपछिका शक्तिशाली राजनीतिक समीकरणहरू, र २०७४ सालको प्रचण्ड बहुमतको सरकार-सबैसँग जनअपेक्षा ठूलो थियो। तर विपक्षीभन्दा बढी आफ्नै घरभित्रका कलह, शक्ति संघर्ष, अहंकार र असंसदीय अभ्यासले ती सरकारहरू कमजोर बने। इतिहासले देखाएको छ कि सरकारहरू बाहिरका शत्रुले भन्दा भित्रका महत्वाकांक्षाले धेरै ढलाएका छन्।

आज पनि सामाजिक सञ्जालमा एउटा व्यंग्य सुनिन्छ/ देखिन्छ कि “समात्नुपर्ने मानिस यति धेरै छन् कि जेलमा मात्र होइन, रंगशालामा पनि अट्दैनन्।” यो वाक्य हाँसोको विषय मात्र होइन, हाम्रो राज्य व्यवस्थामाथिको गम्भीर टिप्पणी पनि हो। यदि दोषीहरूको संख्या यति धेरै देखिन्छ भने समस्या व्यक्तिमा मात्र होइन, प्रणालीमा छ भन्ने स्वीकार गर्नै पर्छ ।

यही सन्दर्भमा केही समयअघि प्रधानमन्त्रीले भने म प्रधानमन्त्री भएपछि मलाई थाहा भयो कि “सिमा भारतले मात्र होइन, नेपालले पनि मिचेको छ ।” भन्ने अभिव्यक्ति दिएपछि राजनीति तरंगित बनेकै छ । कसैले यसलाई यथार्थवादी दृष्टिकोण भने, कसैले राष्ट्रिय भावनामाथिको प्रहार ठानेका छन् । तर एउटा कुरा सत्य हो भने राष्ट्रवाद केवल भाषणले बलियो हुँदैन, सत्य स्वीकार गर्ने साहसले पनि हुन्छ। त्यहीँ अर्को पाटोमा नेपाली समाजको एउटा विशेषता पनि छ कि अन्याय देख्दा “हट्ने होइन, डटेर लड्ने” स्वभाव।
यही स्वभावले इतिहासका कठिन मोडहरूमा नेपालीलाई टिकाइराखेको छ।
तर डटेर लड्नु र आँखामा पट्टी बाँधेर जिद्दी गर्नु फरक कुरा हुन्। राष्ट्रप्रेम विवेकसँग जोडिएर आउँदा शक्ति बन्छ, केवल आवेगसँग जोडिँदा विवाद मात्रै बन्छ।
संभवत: अरस्तुको कथाले यही सन्देश दिएको छ । कहिलेकाहीँ आफूलाई सबैभन्दा बुद्धिमान ठान्नेहरू नै सीमित सोचको खाल्डोमा विशाल सत्यलाई अटाउन खोजिरहेका हुन्छन्। र कहिलेकाहीँ पागल ठानिएका मानिसहरूले नै वास्तविकताको ऐना देखाइरहेका हुन्छन्।

नेपालको राजनीतिलाई आज त्यही ऐनाको आवश्यकता छ, जहाँ गिरफ्तारीभन्दा न्याय ठूलो होस्, भाषणभन्दा आचरण ठूलो होस्, सत्ता भन्दा प्रणाली सुधार ठूलो होस्। नत्र हामी समुद्रलाई खाल्डोमा अटाउने सपना देखिरहनेछौँ, र समुद्र भने उही विशाल रूपमा हाम्रो अगाडि फैलिइरहनेछ।
राजनीतिमा चमत्कार खोज्ने समय सकिएको छ। अब आवश्यकता छ,ज्ञानको विनम्रता, सत्य स्वीकार गर्ने साहस र प्रणाली बदल्ने धैर्यको। किनकि समुद्र सुकाउने भ्रमभन्दा समुद्रको गहिराइ बुझ्ने बुद्धि धेरै मूल्यवान हुन्छ भने हामीमा ज्ञान हुनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।