“फर्जी आधार कार्डको भरमा बदनाम गर्न खोजियो” वडा अध्यक्ष यादव

“फर्जी आधार कार्डको भरमा बदनाम गर्न खोजियो” वडा अध्यक्ष यादव

वीरगञ्ज, ८ असार

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले आफूविरुद्ध प्रसारित समाचारलाई “भ्रामक, तथ्यहीन र नियोजित चरित्रहत्या” को प्रयास भन्दै कडा आपत्ति जनाएका छन्।
माइ टेलिभिजनले विवाहित महिलालाई अविवाहित नागरिकता बनाइदिएको तथा आर्थिक चलखेलमार्फत सिफारिस गरिएको भन्ने समाचार प्रसारण गरेपछि यादवले वडा कार्यालयमै पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा उनले आफूले सिफारिस गरेको भनिएकी महिला करिना कुमारी रहेको र उनी वडा नम्बर ३१ को कटगेनवा टोल निवासी भगौडा महतो तथा सरिता देवीकी छोरी भएको बताए। यादवका अनुसार करिनाको जन्मदर्ता आफू निर्वाचित हुनुभन्दा पहिल्यै २०६० साल १ महिनाको २८ गते बनिसकेको थियो।
“मैले निर्वाचित भएपछि कानुनी प्रक्रिया अनुसार मात्रै नागरिकताको सिफारिस दिएको हुँ,” यादवले भने, “नागरिकता सिफारिसअघि जिल्ला प्रशासन कार्यालयले समेत सर्जमिन मुचुल्काका लागि प्रक्रिया अगाडि बढाएको थियो।”
विवादमा आएको भारतीय आधार कार्डबारे बोल्दै उनले भारतको बगाहा क्षेत्रबाट “करिना देवी” नाममा जारी भएको भनिएको आधार कार्ड शंकास्पद रहेको दाबी गरे। उनका अनुसार उक्त कार्डको स्क्यान गर्दा कुनै विवरण नखुलेको र प्रारम्भिक रूपमा फर्जी दस्तावेज भएको आशंका देखिएको छ।
यादवले वडा कार्यालयको टोलीले सम्बन्धित स्थानमा पुगेर आवश्यक जाँचसमेत गरेको तर कुनै आधिकारिक रेकर्ड फेला नपरेको जानकारी दिए।
उनले नेपाली कानुनअनुसार महिलाको नागरिकता सिफारिसका लागि माइती पक्षको वडा कार्यालयबाट सिफारिस आवश्यक पर्ने उल्लेख गर्दै हालसम्म सम्बन्धित व्यक्तिलाई विवाहित भनेर कुनै सिफारिस नदिएको स्पष्ट पारे।
“जब वडा कार्यालयले विवाहित भनेर कुनै सिफारिस नै दिएको छैन भने केवल एउटा शंकास्पद आधार कार्डकै भरमा कसरी विवाहित प्रमाणित गर्न सकिन्छ ?” उनले प्रश्न गरे।
यादवले सञ्चारमाध्यमलाई प्रमाण र तथ्यका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आफ्नो प्रतिष्ठामाथि आघात पुर्‍याउने कार्यविरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।