गौर नगरपालिकाको ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत
गौर नगरपालिकाको ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत

प्रेमचन्द्र झा /असार ११ रौतहट
गौर नगरपालिकाको १८ औँ नगरसभा (नगर अधिवेशन) उत्साहजनक सहभागिता र भव्य वातावरणका बीच सम्पन्न भएको छ। नगरको समग्र विकास, सुशासन, सेवा प्रवाहको प्रभावकारिता तथा समृद्धिलाई केन्द्रबिन्दुमा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ८८ लाख १२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
नगरसभामा नगर प्रमुख शम्भु साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै नगरवासीको आवश्यकता, अपेक्षा तथा वर्तमान चुनौतीलाई मध्यनजर गरी बजेट निर्माण गरिएको बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ तथा अन्य भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै नगरको दिगो विकास र आर्थिक समृद्धिका लागि योजनाबद्ध ढंगले कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
नगर प्रमुख साहले गौर नगरपालिकालाई आधुनिक, व्यवस्थित र समृद्ध नगरको रूपमा विकास गर्ने लक्ष्यका साथ बजेट ल्याइएको बताउँदै विकास निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरभित्रका आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्नुका साथै रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार तथा वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
नगरसभाका प्रमुख अतिथि मधेस प्रदेश सरकारका मन्त्री कनिष पटेलले गौर नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले केन्द्र र प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रमजस्तै समाजका सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने खालको समावेशी नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको भन्दै त्यसको स्वागत गर्नुभयो।
मन्त्री पटेलले स्थानीय तहको विकास र जनअपेक्षा पूरा गर्न यस्ता दूरदर्शी योजना आवश्यक रहेको उल्लेख गर्दै गौर नगरपालिकाको समग्र विकासका लागि प्रदेश सरकारको आवश्यक सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरसभाको सफलताको शुभकामना दिँदै प्रस्तुत बजेट र कार्यक्रमले नगरवासीको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
नगरसभामा उपप्रमुख, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, नागरिक समाजका अगुवा, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विकासमुखी, जनमैत्री र समावेशी रहेको धारणा व्यक्त गरेका थिए।
नगरसभामा प्रस्तुत बजेटले नगर क्षेत्रभित्रका सडक स्तरोन्नति, नाला निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय तथा स्वास्थ्य संस्थाको सुदृढीकरण, कृषि प्रवर्द्धन, महिला तथा युवा सशक्तीकरण, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई विशेष महत्व दिएको जनाइएको छ। साथै सुशासन प्रवर्द्धन, डिजिटल सेवा विस्तार तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनासमेत समावेश गरिएको छ।
नगरपालिकाका जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विकास निर्माणका कार्यलाई परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरवासीको सुझाव र सहभागितालाई आधार बनाएर अघि बढ्ने नीति अवलम्बन गरिएको जनाउँदै स्थानीय सरकारलाई अझ बढी जवाफदेही, पारदर्शी र जनमुखी बनाइने बताइएको छ।
१८औँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटले गौर नगरपालिकाको विकास यात्रालाई नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ। नगर नेतृत्वले शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने लक्ष्यसहित आगामी वर्षका कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ। नगरसभाको सफल समापनसँगै गौर नगरपालिकाले समृद्ध र व्यवस्थित नगर निर्माणको यात्रामा थप एक महत्वपूर्ण कदम अघि बढाएको विश्वास गरिएको छ।





