गृहमन्त्री गुरुङको निर्देशन लत्याउदै सशस्त्र प्रहरी भन्सारका डिएसपी अधिकारीको संरक्षणमा घुमुवा दुबेको आतंक

अजय चौरसिया /
वीरगंज १६ असार । सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भन्सार वीरगंजका घुमुवा सशस्त्र प्रहरी सहायक हवलदार पशुपति दुबेको कारण सर्वसाधारण आतंकित बन्न पुगेका छन् भने तस्करहरु मालामाल हुदै गएका छन् ।
सशस्त्र प्रहरी गुल्म भन्सारका प्रहरी नायब उपरीक्षक विकास अधिकारीको प्रिय पात्रका रुपमा रहेका बिवादित घुमुवा पशुपति दुबेले नेपालबाट नेपालमै कुनै सामग्रीहरु ल्याउँदा विभिन्न बहाना बनाई डर धाक देखाई रकम असुल्ने गरेको घटना सार्वजनिक भएको छ ।
घटना गत बिहिवारको हो । वीरगंज महानगरपालिका वडा नं. १६ भिस्वा बस्ने पिंटु कुमार सोनी सहित ३ जनाले नेपालको विभिन्न स्थानहरुबाट कबाडको सामग्रीहरु खरिद गरी वीरगंजमा रहेका कबाडहरुमा विक्री गर्ने गरेका छन् । सोही क्रममा गत बिहिवार पिंटु कुमारले नेपालको मिर्चैया, गोलबजार, कटारी लगायतका स्थानहरुबाट बिग्रेका टिभी, युपिएसका किटहरु खरिद गरी बसबाट वीरगंज बसपार्कमा करिब राती ९ बजे ओर्ले । वीरगंज बसपार्कमा ओर्लेपछि एउटा टेम्पोमा सो सामानहरु लोड गरी वीरगंजको गहवा स्थित दुर्गाहल नजिकै रहेको कोठामा राख्न पुगे ।
सोही क्रममा सशस्त्र प्रहरी गुल्म भन्सारका घुमुवा पशुपति दुबे र सुनिल यादव पुगी टेम्पो सहितका कबाडका सामग्रीहरु कहाँ बाट ल्याएको भनि सोधखोज गर्दा पिंटुले नेपालबाटै एक–दुई वटा गरी खरिद गरी ल्याएको र यही बेंच्छु भन्दा घुमुवा दुबेले अनावश्यक झमेला खडा गरी रकमको मोरमोलाई गरे । पिंटुले हामीहरु नेपालबाटै किनेको र नेपालमै बेंच्ने हो, १०÷११ हजारको मात्र कबाडको सामान हो भन्दै पैसा दिन अस्विकार गरे पछि घुमुवा दुबेले टेम्पो सहित कबाडका सामानहरु सशस्त्र प्रहरी गुल्म भन्सारमा लगे ।
त्यहाँ लगेपछि घुमुवा दुबे र यादव सम्पर्क बिहिन बने पछि पिंटु सहितका व्यक्तिहरु सो समय गुल्ममा रहेका सशस्त्र प्रहरीका सई सुरेश घलान लगायतका प्रहरीहरु सँग हारगुहार गर्दा समेत कुनै सुनवाई नभए पछि घर फर्के । भोली पल्ट शुक्रवार पिंटु पुनः गुल्ममा पुग्दा वीरगंज छपकैया निवासी कबाडका तस्कर शेख तमन्ना सँग भेट भयो । तमन्नाले बिचौलिय बनी म तिमीहरुको गाडी र कबाड छोडाई दिन्छु भन्दै पिंटु सँग ५ हजार लिए र सशस्त्रका सई घलानलाई रकम बुझाए पछि टेम्पो दिउँसो करिब ३ः३० बजे छुट्यो तर कबाड भने हालसम्म गुल्म मै राखिएको पिंटुले गुनासो गरे ।
तमन्नाले आज, भोलीमा कबाड छोडाई दिन्छु भन्दै पिंटु सँग बारम्बार वाचा गरेपनि हालसम्म कबाडहरु नछुटेको पिंटुले बताए । पिंटु सँग तमन्नाले कबाड छोडाई दिने भन्दै रकम लिएको र सो रकम सई घलान सरलाई दिएको भनि फोन मार्फत कुरा गरेको अडियो रेकर्डहरु यस अनलाईन सँग सुरक्षित रहेको छ ।
पाठकवृन्द, नेपालको विभिन्न स्थानहरुमा घुमी–घुमी एकाधवटा कबाडको सामान किनी नेपालमै बेंचेर आफ्नो जिवनयापन गर्ने व्यक्तिहरुलाई यसरी दुःख दिन मिल्छ ?
सीमावर्ती जिल्ला पर्सामा सशस्त्र प्रहरी भित्रकै केही ‘घुमुवा’को गतिविधिले तस्करी मौलाएको भन्दै गम्भीर आरोपहरू सार्वजनिक हुदै आएको छ । सुशासनको नारा बोकेको बालेन नेतृत्वको सरकारका गृह मन्त्री सुधन गुरुङबाट तस्करी नियन्त्रणका लागि कडाइ गर्ने निर्देशन आए पनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ ।
सशस्त्र प्रहरी संगठनको निति नियमलाई धज्जी उडाउदै अवैध रकमको लागि गरिखाने निम्न वर्गका व्यक्तिहरुलाई दुःख दिने, मार्ने काम गरेका बदनाम घुमुवा पशुपति दुबे र सुनिल यादव माथि सशस्त्र प्रहरीको माथिल्लो निकायबाट कारवाही गर्न पिंटुले माग गरेका छन् ।
वीरगंज भन्सार क्षेत्रबाट रातीको समयमा तस्करहरु सँग बदनाम घुमुवा दुबेले महिनवारी लिई निर्वाध रुपमा तस्करी गराई रहेको समाचार स्रोतले जनाएको छ । घुमुवा दुबेले सर्वसाधारणहरुले आफ्नो घरायसी प्रयोजनका लागि सामानहरु ल्याउँदा रोकी दुःख दिईरहेका छन् भने भन्सार मातहतमा पर्ने ईनर्वा, छपकैया, श्रीसिया, ड्राईपोर्ट नाकाहरुबाट घुमुवा दुबेलाई मासिक नजाराना बुझाएर दिनहुँ रातीको समयमा कपडा, हार्डवेयर, किराना, स्याउ, रक्सी, माछा, खसी लगायतका सामग्रीहरु निर्वाध रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घुमुवा दुबेले सर्वसाधारणहरुलाई दुःख दिईरहेको र तस्करहरुलाई छुट दिने गरेको भन्दै सशस्त्र प्रहरीको माथिल्लो निकायमा गुनासाहरु बढे पछि उनलाई केही दिनका लागि सशस्त्र प्रहरी बल १३ नं. गणमा तानिएको थियो तर पछि सशस्त्रका प्रहरी अधिकृतहरु सँग साँठगाँठ गरी पुनः भन्सारमै घुमुवाको रुपमा खटाईएको प्रहरी स्रोतको भनाई रहेको छ ।
गत शनिवार नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ्ग प्रहरी प्रशासनलाई खबरै नगरी पर्साको विभिन्न नाकाहरुको अनुगमन गर्दा तस्करी बारे स्थानियहरु सँग राम्ररी बुझी प्रजिअ र प्रहरी उपरीक्षकहरुलाई पूर्ण रुपमा तस्करी रोक्न निर्देशन दिएको भए पनि सशस्त्र प्रहरी गुल्म भन्सार क्षेत्रबाट बदनाम घुमुवा दुबे र यादव जस्ता प्रहरीहरुको सेटिङ्गमा निर्वाध रुपमा तस्करी भई रहेको स्थानियहरुको भनाई रहेको छ । यस तर्फ गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षकको ध्यान पुग्न अति आवश्यक रहेको स्थानियहरुको माग रहेको छ ।






