वीरगंजको भवानीपुर–इनारवामा जनसहभागिताको नमुना, वडा–१८ मा सडक र नाला निर्माण सुरु
वीरगंजको भवानीपुर–इनारवामा जनसहभागिताको नमुना, वडा–१८ मा सडक र नाला निर्माण सुरु

वीरगञ्ज २६ असार
वीरगञ्ज महानगरपालिका–१८ अन्तर्गत भवानीपुर–इनारवा टोलमा वर्षौंदेखि जीर्ण र अलपत्र अवस्थामा रहेको सडक तथा नाला निर्माणको काम स्थानीयवासीको जनसहभागिताबाट सुरु भएको छ। करिब रु. ३ लाख रकम स्थानीयबाट संकलन गरी विकास निर्माणको अभियान अघि बढाइएको हो।
स्थानीयका अनुसार उक्त सडक लामो समयदेखि बिग्रिएको अवस्थामा रहेकाले वर्षायाममा हिलो, पानी जम्ने तथा आवतजावतमा कठिनाइ हुँदै आएको थियो। सरकारी निकायबाट समयमै आवश्यक पहल हुन नसकेपछि स्थानीयवासी आफैं आर्थिक सहयोग जुटाएर निर्माण कार्यमा जुटेका हुन्।
उपभोक्ता समूहको अध्यक्ष शंकर साह कानुका अनुसार जनताको सक्रिय सहभागिताले विकास निर्माणमा नयाँ सन्देश दिएको छ। उनले स्थानीयको सहकार्यबाट सुरु भएको यो अभियानले समुदायबीच एकता, जिम्मेवारी र विकास प्रतिको सकारात्मक सोचलाई थप मजबुत बनाएको बताए।
निर्माण सम्पन्न भएपछि दलित, मुस्लिम, राजपुत तथा कानु समुदायका करिब १५० जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले दैनिक आवतजावत सहज बनाउनुका साथै वर्षायाममा हुने सास्ती समेत कम गर्ने विश्वास गरिएको छ।
स्थानीयवासीले जनसहभागिताबाट सुरु भएको यो अभियानलाई विकासको उदाहरणका रूपमा लिँदै आगामी दिनमा पनि यस्तै सहकार्यबाट अन्य पूर्वाधार निर्माणका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।






