बैंककमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

बैंककमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

थाइल्याण्ड,नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा ‘भानु–२०८३’ विशेष स्मारिका (कृति) सहित चार साहित्यिक कृतिको संयुक्त लोकार्पण गरिएको छ।

कार्यक्रममा थाइल्याण्डभर रहेका करिब २५० भन्दा बढी नेपाली समुदायका सदस्य, साहित्यकार, बुद्धिजीवी, विद्यार्थी, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो। नेपाली राजदूतावाससँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड, थाई नेपाली संघ, पीपुल अफ नेपाली ओरिजिन (पीएनओ), थाई नेपाली फ्रेन्डसिप एसोसिएसन, मगर गुरुङ संघ, तामाङ समाज, नेवार संघ, किराँत साहित्यिक तथा सांस्कृतिक समाज, नेपाल एयरलाइन्सलगायतका संस्थाको सहकार्यमा लगातार तेस्रो वर्ष भानु जयन्तीलाई उत्सवका रूपमा मनाइएको हो।

कार्यक्रमको उद्घाटन थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी नेपाल र थाइल्याण्ड दुवै देशको राष्ट्रिय गान प्रस्तुतसँगै गर्नुभएको थियो। कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष मुन गुरुङले स्वागत मन्तव्य राख्दै भानु जयन्तीले प्रवासमा रहेका नेपालीलाई भाषा, साहित्य र संस्कृतिको साझा सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो।

यस वर्षको कार्यक्रममा विभिन्न उमेर समूहका कविता प्रतियोगिता, खुला कविता प्रतियोगिता, कविता वाचन, वरिष्ठ साहित्यकारद्वारा सिर्जना वाचन, पुस्तक लोकार्पण तथा ‘वर्ष व्यक्तित्व–२०८३’ सम्मान मुख्य आकर्षण बने। प्रतियोगिताका लागि प्राप्त करिब ८० मौलिक कवितामध्ये उत्कृष्ट रचनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरी साहित्यिक गुणस्तर, मौलिकता, भाषा, भाव, प्रस्तुति र वाचनकलाका आधारमा मूल्याङ्कन गरिएको थियो।

६ देखि १२ वर्ष उमेर समूहमा सन्जना सुतार प्रथम, बिन्दिया बराल द्वितीय तथा अस्मिता खड्का तृतीय हुनुभयोदेखी १३ देखि २० वर्ष समूहमा गोमा बुढाथोकी प्रथम, फूलप्रसाद ओझा द्वितीय तथा ज्योति पोखरेल तृतीय हुनुभयो। खुला कविता प्रतियोगितामा राहुल भट्टराई प्रथम, रिना खड्का द्वितीय तथा केशव आचार्य तृतीय हुनुभयो भने कविता वाचन प्रतियोगितामा सन्दीप कार्की प्रथम, रोहन सुवेदी द्वितीय र आकाश गुरुङ तृतीय हुनुभयो। विजेतालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार थाई भाट नगदसहित सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

 

कार्यक्रममा ‘भानु–२०८३’ स्मारिका, कवयित्री रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’, कवि तिलक पोखरेलको ‘आनन्द उपहार’ तथा कृष्ण प्रसाईंको ‘घामको वर्षा’देखी संस्करण संयुक्त रूपमा लोकार्पण गरिएको थियो। साथै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीद्वारा रचित गीत ‘त्यहीँ हुन्छ नेपाल’ पनि सार्वजनिक गरिएको थियो। ‘भानु–२०८३’ मा थाइल्याण्डस्थित नेपाली स्रष्टाका कविता, नेपाली समाजको इतिहास तथा विविध साहित्यिक सामग्री समेटिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत धनबहादुर वलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साझा सम्पर्क भाषाका रूपमा स्थापित गर्न खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्नुभयो। उहाँले भानु जयन्ती विश्वभर छरिएका नेपालीलाई भाषा, संस्कृति र राष्ट्रिय पहिचानको साझा सूत्रमा जोड्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, मातृभाषा र संस्कृतिसँग जोडेर राख्नु सम्पूर्ण नेपाली समुदायको साझा दायित्व भएको बताउनुभयो।

एनआरएनए एसिया–प्यासिफिकका डीआरसी तथा एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेतले नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा प्रवासी नेपाली समुदायको एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पुस्तान्तरण हुँदै गएको नेपाली पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, साहित्यकार, स्वयंसेवक, प्रायोजक तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

एनआरएनए पीएनओका संयोजक तथा थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीले भानु जयन्ती केवल औपचारिक समारोह नभई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्त राख्ने साझा अभियान भएको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, नेपाली समुदाय तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित कार्यक्रम आयोजना गरिने विश्वास व्यक्त गर्नुभयो।

यस वर्षको कार्यक्रम सफल बनाउन नेपाली राजदूतावास, बैंकक, राजदूत धनबहादुर वली, गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड, एनआरएनए एसिया प्यासिफिकका डीआरसी तथा पूर्वअध्यक्ष भविन्द्र बस्नेत, एनआरएनए थाइल्याण्डका अध्यक्ष महेन्द्र श्रेष्ठ,

एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष संजय ढकाल,एनआरएनए पीएनओका संयोजक तथा थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीलगायत थाइल्याण्डमा क्रियाशील विभिन्न नेपाली संघ संस्था र स्वयंसेवकहरूको उल्लेखनीय योगदान रहेको थियो । आयोजकका अनुसार सबै पक्षको सक्रिय सहकार्यका कारण यस वर्षको भानु जयन्ती प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने एक ऐतिहासिक तथा स्मरणीय कार्यक्रमका रूपमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।