रौतहट प्रहरीले एक वर्षमा ६९४ मुद्दा दर्ता, झण्डै ६ करोड राजस्व संकलन

रौतहट प्रहरीले एक वर्षमा ६९४ मुद्दा दर्ता, झण्डै ६ करोड राजस्व संकलन

प्रेमचन्द्र झा / साउन ०३  गाैर 

जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख कार्यहरूको सार्वजनिक विवरण आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक सिताराम रिजालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिए।

प्रहरीका अनुसार ८ लाख १३ हजार ५७३ जनसंख्या रहेको रौतहटमा ९०४ जनाको दरबन्दी भए पनि हाल ७७० जना प्रहरी कर्मचारी कार्यरत छन्। यस आधारमा प्रहरी–जनसंख्या अनुपात १ः१०५६.५८ र प्रहरी–क्षेत्रफल अनुपात १ः१.४६ वर्ग किलोमिटर रहेको छ। गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादनका आधारमा १६२ जना प्रहरी कर्मचारी पुरस्कृत,

२८ जनामाथि विभागीय कारबाही तथा ८६ जनालाई विभिन्न तालिम प्रदान गरिएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धानतर्फ आर्थिक वर्षभर ६९४ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १,१५२ जनालाई प्रतिवादी बनाइएको, ४७२ जनालाई पक्राउ गरिएको तथा ६८० वटा मुद्दा अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ८४७ केजी ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४,२६५ एम्पुल तथा १३,९१६ ट्याब्लेट लागू पदार्थ बरामद गरेको जनाएको छ।

फैसला कार्यान्वयनतर्फ ४४८ जना फरार प्रतिवादी पक्राउ गरिएको छ, जुन निर्धारित लक्ष्यको १००.६७ प्रतिशत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना असुल गरिएको छ।

यस अवधिमा ६ थान अवैध हातहतियार, १९ थान गोली बरामद गरी ३ जनालाई पक्राउ गरिएको छ। खोटा मुद्रासम्बन्धी ३ वटा मुद्दा दर्ता गरी १ लाख ३६ हजार रुपैयाँ बराबरका जाली नेपाली नोट बरामद तथा ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्थापनतर्फ वर्षभर १,०८८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५३ जनाको मृत्यु भएको, १,६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ वटा सवारीसाधनमाथि कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीमा दर्ता भएका ४ हजार ८५० ठाडो उजुरीमध्ये ४ हजार ३८० वटा फर्छ्योट गरिएको तथा ४७० वटा प्रक्रियामा रहेको जानकारी दिइएको छ।

अवैध मदिरा उत्पादन नियन्त्रण अभियानअन्तर्गत ५ वटा भट्टी नष्ट गरिएको छ। साथै १,५४५ लिटर तयारी मदिरा, २,००० लिटर कच्चा पदार्थ, २ वटा मदिरा उत्पादन उपकरण, १७ वटा ड्रम तथा भाँडा र एउटा सवारी साधन नष्ट गरिएको प्रहरीले जनाएको छ।

भन्सार छली नियन्त्रण अभियानमा १८ जना व्यक्ति र १५५ वटा सवारी साधन नियन्त्रणमा लिई ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ राजस्व संकलन गरिएको छ। यो लक्ष्यभन्दा ५.२४ प्रतिशत बढी रहेको प्रहरीको दाबी छ। यसैगरी स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जनालाई पक्राउ गरिएको छ।

 

वन अपराध नियन्त्रण अभियानमा २२२ क्युबिक फिट अवैध काठ बरामद गरिएको छ, जसको राजस्व मूल्य ५ लाख ९५ हजार २२५ रुपैयाँ रहेको छ। यस प्रकरणमा २ जना र ५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

अवैध उत्खनन नियन्त्रणका क्रममा ३० वटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

आर्थिक वर्षभर जिल्ला सुरक्षा समितिका ४ वटा बैठक सम्पन्न भएका छन्, जसमा एउटा बैठक जुममार्फत आयोजना गरिएको थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ९५४ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा २४ हजार ३७३ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।

सेवाग्राहीतर्फ गत आर्थिक वर्षमा १ लाख ३३ हजार ७७४ जनाले जिल्ला प्रहरी कार्यालयबाट विभिन्न सेवा लिएका छन्। तीमध्ये ५१ हजार ३५६ महिला, ८० हजार ९८२ पुरुष, ३५४ बालबालिका, १ हजार ५७ ज्येष्ठ नागरिक तथा २५ जना शारीरिक अशक्त रहेका छन्।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिताराम रिजालले आगामी दिनमा पनि अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता समेत व्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।