गरुडा–समनपुर सडकको दुरवस्थाले स्थानीय आक्रोशित तत्काल मर्मतको माग

गरुडा–समनपुर सडकको दुरवस्थाले स्थानीय आक्रोशित तत्काल मर्मतको माग

प्रेमचन्द झा / साउन २१ रौतहट

रौतहटको गरुडा–समनपुर सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा यस सडक प्रयोग गर्ने सर्वसाधारणले दैनिक सास्ती भोग्न बाध्य भएका छन्। सडकभरि खाल्डाखुल्डी, वर्षायाममा हिलो तथा पानी जम्ने समस्याले आवागमन अत्यन्तै कष्टकर बनेको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार सडकको दुरवस्थाका कारण साना–ठूला सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ। विद्यार्थी विद्यालय आउजाउ गर्न, किसान कृषि उपज बजारसम्म पुर्‍याउन, बिरामी स्वास्थ्य संस्था पुग्न तथा व्यापारी र यात्रुले दैनिक आवतजावत गर्न ठूलो समस्या भोगिरहेका छन्। सडक बिग्रिएकै कारण यात्रामा बढी समय लाग्ने, सवारीसाधनमा बारम्बार क्षति पुग्ने र आर्थिक भारसमेत बढेको उनीहरूको गुनासो छ।

स्थानीयवासीले सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडकको प्रभावकारी मर्मत तथा स्तरोन्नति हुन नसकेको बताएका छन्। उनीहरूका अनुसार सामान्य मर्मतले समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा गुणस्तरीय सडक निर्माण आवश्यक भइसकेको छ।

स्थानीयले गरुडा–समनपुर सडकको तत्काल मर्मत तथा स्तरोन्नति गरी सुरक्षित, सहज र भरपर्दो आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। उनीहरूले विकासको आधार मानिने सडक पूर्वाधारप्रति राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै ढिलाइ नगरी आवश्यक बजेट विनियोजन र निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।