झाँझ नदीको पानीले रौतहटका दर्जनौँ गाउँको धानबाली डुबानमा, किसान चिन्तित
झाँझ नदीको पानीले रौतहटका दर्जनौँ गाउँको धानबाली डुबानमा, किसान चिन्तित

प्रेमचन्द्र झा /साउन २१ रौतहट
रौतहट क्षेत्र नम्बर १ अन्तर्गत माधवनारायण नगरपालिकाको मिठुअवा गाउँको दक्षिण भागबाट झाँझ नदीको पानी पश्चिमतर्फ फैलिँदा दर्जनौँ गाउँका हजारौँ बिघा धानबाली डुबानमा परेका छन्।
स्थानीयका अनुसार नदीको पानी उप्टिएर जेठरहिया, भेडियाही, राजपुर, सरुअठा, झुन्खुनवा, फतुवा, पचरूखी, छतौना, मत्सरी लगायतका गाउँका खेतहरू जलमग्न भएका छन्। केही दिनदेखि निरन्तर पानी जमिरहेकाले धानबालीमा ठूलो क्षति पुग्ने जोखिम बढेको छ।
किसानहरूले यस वर्षको धान रोपाइँ तथा खेतीपातीको सम्पूर्ण काम सम्पन्न गरिसकेका बेला एक्कासि डुबान भएपछि उनीहरू गम्भीर समस्यामा परेका छन्। खेतमा जमेको पानी तत्काल निकास हुन नसके उत्पादनमा ठूलो गिरावट आउने र आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेको किसानहरूको भनाइ छ।
स्थानीय बासिन्दाले झाँझ नदीको पानी व्यवस्थापन, निकासको उचित व्यवस्था तथा डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल राहत र दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरेका छन्। उनीहरूले समयमै आवश्यक कदम चालिएन भने हजारौँ किसानको वर्षभरिको मेहनत खेर जाने चेतावनी दिएका छन्।
डुबानको समस्या बढ्दै गएपछि स्थानीयवासीले संघ, प्रदेश र स्थानीय सरकारसँग तत्काल ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रको अनुगमन, पानी निकासको व्यवस्था तथा किसानलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन्।






