रसुवा बाढीपीडितका लागि असलम आलमले एक महिनाको तलब दिने घोषणा
रसुवा बाढीपीडितका लागि असलम आलमले एक महिनाको तलब दिने घोषणा

वीरगञ्ज १२ भदौ
रसुवाको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितको राहतका लागि सहयोग गर्ने घोषणा गरेका छन्।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आलमले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धारका लागि उनले आग्रह गरेका छन्।
आफ्नो एक महिनाको तलब सहयोग रकम सानो भए पनि विपत्तिमा परेका परिवारको दुःखमा साथ र ऐक्यबद्धताको प्रतीक भएको आलमले बताएका छन्।
उनले विपद्को कठिन घडीमा सबै तहका जनप्रतिनिधि, संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूलाई राहत, उद्धार र पुनःस्थापनाका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन्।“पीडितको दुःखमा हाम्रो साथ होस्। मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन “ आलमले भने।





