रौतहटमा ३५ लाखभन्दा बढीको अवैध कष्मेटिक र सुर्ती बरामद

रौतहटमा ३५ लाखभन्दा बढीको अवैध कष्मेटिक र सुर्ती बरामद

प्रेमचन्द्र झा/भदौ १९ रौतहट

ईशनाथ नगरपालिका–३ औरैयास्थित एक घरबाट सशस्त्र प्रहरीले ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध कष्मेटिक सामग्री तथा सुर्तीजन्य वस्तु बरामद गरेको छ।

प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब ११ः३० बजे स्थानीय नवल ।किशोर गुप्ताको घरमा खानतलासी गरेको थियो। त्यस क्रममा भन्सार मूल्य ३५ लाख २३० रुपैयाँ बराबरका कष्मेटिक सामान तथा सुर्तीजन्य वस्तु लुकाएर राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा ४५ जना सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बन्जरहाका प्रहरी नायब निरीक्षक धर्मनाथ यादवको नेतृत्वमा ७ जना प्रहरी तथा भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले घरमा खानतलासी गरेको थियो। बरामद सामग्री आवश्यक कारबाहीका लागि विहीबार दिउँसो गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गुल्म गौरका प्रमुख डीएसपी दुर्गाप्रसाद भट्टले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा सामान भित्र्याउने क्रम बढिरहेका बेला ठूलो परिमाणमा कष्मेटिक तथा सुर्तीजन्य सामग्री बरामद भएको हो। पछिल्लो घटनाले सीमाक्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र कारबाहीलाई थप सक्रिय बनाएको देखिएको छ।

बरामद सामग्री कहाँबाट ल्याइएको थियो र यसको कारोबारमा संलग्न व्यक्तिहरू को–को छन् भन्ने विषयमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।