सिम्रौनगढका प्रहरी निरीक्षक साहको तस्करी राज ! डिआइजी अधिकारीको नाम भजाएर असुली गर्दै
सिम्रौनगढका प्रहरी निरीक्षक साहको तस्करी राज ! डिआइजी अधिकारीको नाम भजाएर असुली गर्दै

अजय चौरसिया/वीरगंज २१ भदौ
बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिलोमतोमा खुल्लेयाम रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । हाल देशमा बाढी पहिरोको प्रकोपले देशको सम्पूर्ण सुरक्षा प्रमुख तथा सरकार उद्धार र राहतमा ध्यान दिएको हुँदा सोही मौकाको फाईदा उठाउदै ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले आफ्नो दुनो सोझ्याउदै तस्करी कार्यलाई बढावा दिएको समाचार स्रोतले जनाएको छ ।
ईलाका सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक साहले अवैध रकमको लोभमा प्रहरी संगठनलाई बदनाम गराउदै खुल्लेयाम तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ । प्रहरी निरीक्षक साहको प्रत्यक्ष निर्देशनमा रातीको समयमा तस्करहरुलाई तस्करीको लाईन दिएको र सो वापत अवैध रकम ईप्रकामै तस्करका नाईकेहरुलाई बोलाई आफै बुझ्ने गरेको ती स्रोतको दाबी रहेको छ ।
बारा जिल्लाको अन्य सिमावर्ती क्षेत्रहरु भन्दा सिम्रौनगढ नाका तस्करहरुको लागि सुरक्षित रहेको भन्दै तस्करहरु केही बढी महिनवारी बुझाएर भए पनि सोही नाकालाई प्रयोग गर्ने गरेको तस्करहरुको भनाई रहेको छ ।
बिगतका समयमा प्रहरी हवलदार सुजित राउतलाई घुमुवा खटाई अबैध कारोबारीहरुबाट रकम असुली गराई राखेको समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पछि राउतलाई हटाई हाल प्रहरी निरीक्षक साहले आफै तस्करहरु सँग मरमोलाई गरी आफ्नो र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीको नाममा समेत रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।
घुमुवा राउतले आर्थिक अपराध गरी कार्यालयको नाम बदनाम गराएको भन्दै उनलाई हटाएको भनिए पनि वास्तविक्ता फरक रहेको बताईन्छ । प्रहरी निरीक्षक साहले भने अनुसारको रकम घुमुवाले दिन नसकेको तथा तस्करी वापतको अवैध रकममा घोटाला गरेको आरोपमा राउतलाई हटाईएको समाचार स्रोतको दाबी रहेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट तस्करी गर्ने तस्करहरुलाई प्रहरी निरीक्षक साहले कार्यालयमै बोलाई “डिआईजीसाबको भाग यति र मेरो भाग यति जम्मा गर्नु, जम्मा गर्नेलाई राती ११ बजे देखि बिहान ४ बजे भित्रमा नाका कटाई सक्नु पर्ने शर्त सहित लाईन दिने गरेको” कपडाको काम गर्ने एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी तथा आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी निरीक्षक साहले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक प्रति तस्कर १० हजार देखि ५० हजार गरी ७ देखि १० लाख सम्म प्रहरी निरीक्षक साहले बुझने गरेको तथा डिआईजी अधिकारीको भागमा मासिक ४ देखि ६ लाख सम्म असुली गरी तस्करीको साम्राज्य फैलाउने कार्यमा प्रहरी निरीक्षक साह तल्लिन रहेको ती स्रोतको भनाई रहेको छ ।
सो नाका भएर भारतबाट अरविन्दले हार्डवेयर, रजनीगन्धा र कस्मेटिकको तस्करी गरे वापत ५० हजार, शत्रुधन र सन्दिपले चल्लाको तस्करी गरे वापत ६० हजार, भोला, मास्टर, सन्दीप, राकेश र अरबिन्दले कपडाको तस्करी गरे वापत १ लाख ९० हजार प्रहरी निरीक्षक साहलाई बुझाई तस्करीको लाईन लिएको समाचार स्रोतको दाबी रहेको छ । नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ । यतिमात्र होईन, देशभरी नै लागु औषध विरुद्ध अभियान चलिरहेको भए पनि सिम्रौनगढ नाकाबाट लागु औषधको कुख्यात तस्कर राजेशले प्रहरी निरीक्षक साह सँग साठगाठ गरी लागुऔषध गाँजाको तस्करी निर्वाध रुपमा गरिरहेको समाचार स्रोतले जनाएको छ ।
बारम्बार प्रहरी निरीक्षक साहले प्रहरी संगठनको निति निर्देशनलाई धोती लगाएको भन्दै समाचार र तस्करीको भिडियोहरु सार्वजनिक भए पनि उनले आफु पूर्व आईजिपी सर्वेन्द्र खनालको मान्छे हुँ, उनी अहिले अवकाशमा गए पनि प्रहरी संगठनमा उनको पकड राम्रो छ, हालको आईजिपी सँग पनि उनको राम्रो सम्बन्ध रहेकोले जति समाचार लेखे पनि मलाई फरक पर्दैन भनि घुर्की लगाउने गरेको समाचार स्रोतको भनाई रहेको छ ।
प्रहरी निरीक्षक साहले मधेश प्रदेशका डिआईजी अधिकारीको नाममा समेत अवैध रकम असुली गरिराखेकोले डिआईजीसाबको भाग पुग्ने गरेको छ कि छैन हामीलाई जानकारी नभएको हार्डवेयरको काम गर्ने एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा यस अनलाईनलाई बताए । प्रहरी निरीक्षक साहले अवैध कार्यहरुलाई प्रशय दिईरहेको तथा आर्थिक लाभ लिनमा मस्त रहेको भए पनि यस तर्फ प्रहरी प्रधान कार्यालय तथा गृहमन्त्रालयको ध्यान नजानुले आम नागरिकहरु आश्चर्यमा परेका छन् ।





