अस्पतालले फर्कायो, सडकमा जन्मियो शिशु

अस्पतालले फर्कायो, सडकमा जन्मियो शिशु

राजविराज २५ गते

सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मीको कथित लापरबाहीका कारण एक गर्भवती महिलाले अस्पतालकै गेटबाहिर सडकमा शिशुलाई जन्म दिनुपरेको गम्भीर घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ निवासी भागवत पासवानकी बुहारी तथा हरेराम मण्डलकी श्रीमती करिब ३५ वर्षीया बबिता पासवानले बुधबार राति करिब २ बजे अस्पतालको मुख्य गेटबाहिर सडकमा आफ्नो तेस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।

पीडित परिवारका अनुसार बबिताले गर्भधारण गरेदेखि नै वडा क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति करिब १ बजे जिल्लाकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्‍याइएको थियो।

तर अस्पताल पुगेपछि बबिताको उपचार सुरु गर्नुको सट्टा स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीबाट गराइएको जाँचको पुर्जा मागेको परिवारको भनाइ छ। श्रीमान् हरेरामले स्वास्थ्य चौकीबाट गरिएका जाँचका कागजात देखाउँदा अस्पतालका नर्स तथा ड्युटी इन्चार्जले उक्त रिपोर्ट स्वीकार नगरेको र नयाँ जाँच गराएर ल्याउन निर्देशन दिएको आरोप परिवारले लगाएको छ।

परिवारका अनुसार हरेरामलाई सुगरलगायत विभिन्न परीक्षण गराएर ल्याउन भनिएको थियो। परीक्षणका लागि अस्पतालको बिल काउन्टरमा बुझ्दा करिब ३ हजार २ सय रुपैयाँ लाग्ने जानकारी दिइएको थियो। आफूहरूसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको भन्दै बाँकी रकम बिहान व्यवस्था गरेर बुझाउने बताउँदै हरेरामले सहयोगका लागि आग्रह गरे पनि उनको आग्रह सुनुवाइ नभएको परिवारको दाबी छ।

यसैबीच, अस्पतालमा बबिताको परीक्षण गर्दा ‘एक घर मात्र खुलेको’ भन्दै घर फर्किन सक्ने सुझाव दिइएको परिवारको आरोप छ। स्वास्थ्यकर्मीको सोही निर्देशनपछि बबितालाई अस्पतालबाट बाहिर निकालिएको र अस्पतालको गेट तथा मुख्य सडकको छेउमै प्रसव व्यथा बढेपछि उनले राति करिब २ बजे छोरालाई जन्म दिएको परिवारले जनाएको छ।

प्रसूति गराउन अस्पताल पुगेकी गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुको सट्टा कागजी प्रक्रिया, थप परीक्षण र रकमको अभाव देखाएर फर्काइएपछि अस्पतालकै गेटबाहिर बच्चा जन्मिनुपर्ने अवस्था आउनु सामान्य प्रशासनिक कमजोरी नभई स्वास्थ्य सेवाको संवेदनशीलतामाथिकै गम्भीर प्रश्न हो।

विशेषगरी आर्थिक रूपमा कमजोर, दलित तथा सीमान्तकृत समुदायका नागरिकका लागि सरकारी अस्पताल अन्तिम भरोसाको केन्द्र मानिन्छ। तर उपचारका लागि अस्पताल पुगेका विपन्न नागरिकले पैसा अभावकै कारण आवश्यक सेवा पाउन नसक्ने अवस्था हो भने राज्यको निःशुल्क तथा सर्वसुलभ स्वास्थ्य सेवाको प्रतिबद्धतामाथि नै प्रश्न उठ्छ।

घटनाले अस्पतालको ड्युटी व्यवस्थापन, आकस्मिक प्रसूति सेवा, स्वास्थ्यकर्मीको जिम्मेवारी, बिरामीप्रतिको व्यवहार तथा गरिब नागरिकप्रति अस्पताल प्रशासनको संवेदनशीलता माथि गम्भीर प्रश्न खडा गरेको छ।

अस्पतालजस्तो संवेदनशील संस्थामा बिरामीको अवस्था मूल्यांकन गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको हो। प्रसव पीडामा रहेकी महिलालाई आवश्यक निगरानी र उपचारबिना अस्पताल परिसरबाट बाहिरिनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर विषय हो। त्यसैले घटनाबारे स्वतन्त्र छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा दोषी देखिए जिम्मेवार स्वास्थ्यकर्मी र पदाधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न पीडित परिवार तथा स्थानीय नागरिकले माग गरेका छन्।

यस घटनाले एउटा गम्भीर प्रश्नसमेत उठाएको छ—गरिब नागरिकसँग पैसा नभएकै कारण सरकारी अस्पतालको ढोका बन्द हुने हो भने राज्यले घोषणा गरेको ‘सर्वसुलभ स्वास्थ्य सेवा’ आखिर कसका लागि हो ?

घटनाबारे अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा कुनै पनि गर्भवती महिला अस्पतालको गेटमा होइन, सुरक्षित प्रसूति कक्षमै बच्चा जन्माउन पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।