सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर
सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर

सिमरा १० असोज
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सेवा केन्द्र परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेका थिए। शिविरमा जनरल फिजिसियन, युरोसर्जन, बालरोग, नाक–कान–घाँटी, मुटु तथा थाइराइड/मधुमेह, स्त्रीरोग, सर्जरी, हाडजोर्नी तथा नशा, आँखा र दन्तरोग विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी प्रमुख ब्रह्माकुमारी मधु दिदीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो।
शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका अगुवा व्यक्तित्व तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा रोगसम्बन्धी आवश्यक परामर्श उपलब्ध गराइएको थियो।
कार्यक्रमले आर्थिक अवस्था वा अन्य कारणले नियमित रूपमा विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिनाइ हुने स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ।






