‘विद्यालय सबैका लागि हो’ : पर्साका विद्यार्थीले उठाए समावेशी शिक्षा र बालअधिकारका सवाल

‘विद्यालय सबैका लागि हो’ : पर्साका विद्यार्थीले उठाए समावेशी शिक्षा र बालअधिकारका सवाल

पर्सा १६ असोज

‘विद्यालय सबैका लागि हो’ भन्ने सन्देशसहित पर्साका दुई स्थानीय तहका विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय र बालअधिकारका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्।

विद्यार्थीहरूमा समावेशी शिक्षा तथा बालअधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले धोविनी र जगरनाथपुर गाउँपालिकामा ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।

अकाउन्टेबिलिटी ल्याब नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा सहकार्यमा धोविनी गाउँपालिकास्थित श्री अजिज मियाँ माध्यमिक विद्यालय र जगरनाथपुर गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विद्यालयमा हुने विभेद, बालबालिकाको समान सहभागिता, सुरक्षित तथा बालमैत्री वातावरण र शिक्षामा सबैको समान पहुँचको आवश्यकतामाथि जोड दिएका थिए।

विद्यार्थीहरूले शिक्षा विद्यालयमा उपस्थित हुने विषयमा मात्र सीमित नरहेको भन्दै हरेक बालबालिकाले सुरक्षित वातावरणमा समान अवसर र सम्मानका साथ सिक्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने धारणा राखेका थिए। जात, लिंग, आर्थिक अवस्था, शारीरिक अवस्था वा अन्य कुनै आधारमा हुने विभेदले बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पार्ने भएकाले विद्यालयलाई सबैका लागि समान र सुरक्षित बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

धोविनीमा रामशरण प्रथम धोविनी गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगितामा रामशरण पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्।

कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका दिपेश पटेल, धोविनी गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहान, SODCC पर्साका विशाल गुप्ता तथा विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामलगायत शिक्षक, अभिभावक र विद्यार्थी गरी करिब १२० जनाको सहभागिता रहेको थियो।

जगरनाथपुरमा काजल प्रथम त्यसैगरी जगरनाथपुर गाउँपालिकामा आयोजित प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी काजल कुमारी प्रथम, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीका राजकुमार साह द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी सेस्नी कुमारी तृतीय भएका छन्।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका नौसाद आलम र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठी–मसिहानीकी अञ्जली कुमारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

जगरनाथपुरमा आयोजित कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुरका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका शिक्षा प्रमुख रविन्द्र प्रसाद यादव, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे, दुलार्चन साह, अजय पटेल, GIEN का प्रतिनिधि, अभिभावक तथा विद्यार्थी गरी करिब १३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

‘सुरक्षित विद्यालय’ भौतिक संरचनामा मात्र सीमित होइन वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले विद्यालयलाई सुरक्षित र बालमैत्री बनाउन विद्यालयको मात्र प्रयास पर्याप्त नहुने धारणा पनि राखेका थिए।

बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय र स्वयं विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

सुरक्षित विद्यालय भन्नाले भौतिक संरचना मात्र सुरक्षित हुनु नभई बालबालिकाले डर, भेदभाव र हिंसाबाट मुक्त भएर अध्ययन गर्न पाउने वातावरण निर्माण हुनु पनि रहेको विद्यार्थीहरूले बताएका थिए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार, अनुभव र सवाल सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। साथै समावेशी शिक्षा, बालअधिकार, सुरक्षित विद्यालय तथा भेदभावरहित शिक्षाका विषयलाई विद्यालय र समुदायस्तरसम्म पुर्‍याउन कार्यक्रमले सहयोग गरेको जनाएको छ।

विद्यार्थीका आवाज र विचारलाई विद्यालयको शैक्षिक वातावरणसँग जोड्दै यस्ता गतिविधिले बालबालिकालाई आफ्ना अधिकारबारे सचेत बनाउनुका साथै सुरक्षित, समान र समावेशी विद्यालय निर्माणका लागि आवश्यक संवादको वातावरण तयार गर्ने आयोजकको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।