कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी घोषणा

वीरगंज १७ असोज

काठमाडौं,चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली कांग्रेसको रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

कटुवालले पार्टीको नीति, विचार, संगठन र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै कांग्रेस संगठनलाई थप सुदृढ, चलायमान र प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन । उनले महाधिवेशन प्रतिनिधि केवल केन्द्रमा पुगेर मतदान गर्ने भूमिकामा सीमित हुन नहुने भन्दै आफ्नो जिल्लाको आवाज, आवश्यकता र जनताको अपेक्षा पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने जिम्मेवारीसमेत प्रतिनिधिको रहेको बताएका छन्।

रामेछापबाट आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने मतदाताप्रति आभार व्यक्त गर्दै कटुवालले प्राप्त विश्वासलाई थप जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले रामेछापको राजनीतिक उपस्थिति केन्द्रमा अझ बलियो बनाउन, जिल्लाका जनताको सुख दुःखमा निरन्तर साथ दिन र युवाको सहभागिता कांग्रेसको मूलधारमा थप विस्तार गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पारेका छन ।

“केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन। आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने र पार्टीभित्र आफ्नो क्षेत्रको प्रभावकारी उपस्थिति स्थापित गर्ने जिम्मेवारी पनि हो,” कटुवालको भनाइ छ।

कलाकारिताबाट लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कटुवाल राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत हुन । लोकदोहोरी क्षेत्रमा स्थापित पहिचान बनाएका उनी पछिल्लो समय सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। कलाकारितामा हासिल गरेको अनुभवलाई सामाजिक सेवासँग जोड्दै राजनीतिक यात्रामार्फत जनताको सेवा गर्ने उद्देश्य रहेको उनले बताएका छन्।

कटुवालको राजनीतिक यात्रालाई देशैभरका कलाकारहरु, रामेछापका कांग्रेस कार्यकर्ता तथा युवापंक्तिले सकारात्मक रूपमा लिएको बताइएको छ। कलाकारिता क्षेत्रमा लोकप्रियता बनाएका व्यक्तित्व पार्टी संगठनको नेतृत्वमा आउन खोज्नुले युवाको सहभागिता र नयाँ पुस्ताको राजनीतिक आकर्षण बढाउन सक्ने अपेक्षा समर्थकहरूले गरेका छन्।

कटुवाल नेपाली कांग्रेसका नेता गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको तयारीका क्रममा खुलेर समर्थनमा समेत सक्रिय भएका थिए। त्यसयता उनी कांग्रेसको संगठनात्मक गतिविधिमा थप सक्रिय देखिएका छन्। उनले आफू राजनीतिमा व्यक्तिगत लाभ वा पदका लागि नभई समाजसेवा गर्ने उद्देश्यले आएको बताउँदै आएका छन्।

रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवालले १५औँ महाधिवेशनका लागि खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि नै उनले पार्टी संगठनमा युवाको भूमिकालाई थप प्रभावकारी बनाउने र जिल्लाका मुद्दालाई केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कटुवालले कांग्रेसको संगठनलाई समयअनुकूल बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। उनले पार्टीभित्र नयाँ पुस्तालाई अवसर, कार्यकर्ताका समस्या र आवाजलाई नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने तथा संगठनलाई जनतासँग अझ नजिक बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।

उनले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई केन्द्रीय सदस्यको उम्मेदवारीसँग जोडिएको जिम्मेवारीका रूपमा लिएको बताएका छन्। साथै, आगामी निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।

“मलाई विश्वास गरेर महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउनुहुने रामेछापका सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। अब त्यो विश्वासलाई संगठन निर्माण र जनसेवामा रूपान्तरण गर्ने मेरो जिम्मेवारी हो। सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिज्यूहरूलाई केन्द्रीय सदस्य पदमा आफ्नो अमूल्य मत दिएर भारी मतका साथ विजयी गराइदिनुहुन हार्दिक आग्रह गर्दछु,” कटुवालले भनेका छन्।

कलाकारिताबाट प्राप्त लोकप्रियता, राष्ट्रिय संगीतकर्मी संघको नेतृत्व अनुभव र कांग्रेसको संगठनात्मक राजनीतिमा बढ्दो सक्रियतालाई आधार बनाउँदै कटुवालले आफ्नो राजनीतिक यात्रालाई नयाँ चरणमा प्रवेश गराएका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा कलाकारिता क्षेत्रबाट पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व खोज्ने प्रयाससमेत चर्चामा आएको छ।

कटुवालले भने आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि रामेछापको राजनीतिक आवाजलाई केन्द्रमा स्थापित गर्ने र पार्टी संगठनमा युवाको प्रभावकारी सहभागिता बढाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। कटुवाल रास्ट्रीय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष र चर्चित कलाकार पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।