‘हाम्रो नेपाल दैनिक’को वार्षिकोत्सवमा मानवसेवा आश्रममा भोजन गराईयो

वीरगंज २६ असोज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै सञ्चारमाध्यमले आफ्नो वार्षिकोत्सवलाई सेवामूलक कार्यक्रमका रूपमा मनाएको हो ।
हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसियाले हाम्रो नेपाल दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै अनलाइन पत्रिकाको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरेका थिए ।
उनले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत जनताको आवाज बुलन्द गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । वार्षिकोत्सवका अवसरमा मानवसेवा आश्रममा भोजन सेवा सञ्चालन गर्नु सकारात्मक सामाजिक पहल भएको सन्देश दिएका थिए ।
कार्यक्रमकी अध्यक्ष तथा सञ्चालक प्रीति चौरसियाले हाम्रो नेपाल दैनिकको छैटौँ वार्षिकोत्सवसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक तथा सहयोगीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गरिन । उनले पाठकहरूको विश्वास, विज्ञापनदाताहरूको सहयोग र शुभेच्छुकहरूको सद्भावले सञ्चारमाध्यमलाई निरन्तर अगाडि बढ्न प्रेरणा मिलेको बताउँदै आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन । उनले वार्षिकोत्सवलाई केवल उत्सवमा सीमित नराखी असहाय तथा आश्रित व्यक्तिहरूको सेवामा समर्पित गर्ने उद्देश्यले मानवसेवा आश्रममा भोजन कार्यक्रम आयोजना गरिएको बताईन् ।
सो कार्यक्रममा नेको इन्स्योरेन्स लिमिटेड वीरगंज शाखाका प्रमुख तथा मधेस प्रदेशका क्लस्टर हेड विक्रम आले, रामेश्वर चौरसिया लगायत पर्सेली सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमले पत्रकारिता र सामाजिक सेवा बीचको सम्बन्धलाई उजागर गर्दै समाजमा सहयोग, सद्भाव र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको छ ।
हाम्रो नेपाल दैनिकले छैटौँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि पत्रकारिता सँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।





