इनमको कमाल, भए नेपाली नटवरलाल राज्यसंयन्त्रमा र बिचौलियातन्त्रको नाङ्गो रूप : डा.विजय दत्त 

इनमको कमाल, भए नेपाली नटवरलाल राज्यसंयन्त्रमा र बिचौलियातन्त्रको नाङ्गो रूप : डा.विजय दत्त 

इनमको इमान 

गराए धेरै प्रणाम । 

तृप्ती र तृणाको

पाए धेरै इनाम ।। 

जय जय हो इनाम 

न्यायमुर्ति लम्पसार 

एउटै बने रोजगार ।

होटलमा भेटघाट 

लर्को हुँदै लट्ठमार ।।

अनुच्छेदमा इनम 

परिच्छेदमा इनम। 

छिद्र मित्र जे भए

गर्नेगरि गरम ।। 

सामाजिक सञ्जालमा भाइरल बनेको यो व्यङ्ग्यात्मक कविताले आजको नेपाली समाज, राजनीति र राज्यसंयन्त्रको निकै कुरूप र यथार्थ तस्बिर प्रस्तुत गरेको छ। कवितामा प्रयोग गरिएको ‘इनम’ शब्दले केवल एक पात्रलाई मात्र प्रतिनिधित्व गर्दैन, यो त देशको शासनप्रणालीका मसिहा भनिनेहरूलाई समेत नचाइदिने एउटा सर्वव्यापी ‘बिचौलिया संस्कृति’ र ‘दलालीतन्त्र’को प्रतीक बनेर उभिएको छ। जब नीति, नियम, इमान र नैतिकतालाई किनारामा राखेर केही सीमित व्यक्तिहरूले राज्यका हरेक अङ्गलाई आफ्नो मुठीमा पार्छन्, तब देशमा ‘नेपाली नटवरलाल’ हरू जन्मिन्छन् र आम नागरिक टुलुटुलु हेर्न बाध्य हुन्छन्।

१. राज्यका अङ्गहरूमा बिचौलियाको दबदबा

कविताको पहिलो भागले निकै गहिरो राजनीतिक र सामाजिक विडम्बना उजागर गरेको छ। मन्त्रीदेखि प्रधानमन्त्रीसम्म, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू (आइजी र एआइजी) देखि न्यायपालिकाका सर्वोच्च धरोहर,न्यायाधीश र प्रधानन्यायाधीशसम्म कसरी अदृश्य शक्ति वा बिचौलियाको प्रभावमा चल्छन् भन्ने कुरा छताछुल्ल भएको छ।

होटल र मोटेलका कोठादेखि शक्ति केन्द्रका सिंहदरबारसम्म,अदालतका इजलासदेखि अस्पतालका शैयासम्म, राजनीतिदेखि कूटनीतिक नियोगहरूसम्म—

आज ‘इनम’ नाम गरेका पात्रहरू वा उनीहरूजस्तै सेटिङबाजहरूको रजगज चलिरहेको छ। यसले के स्पष्ट पार्छ भने, नेपालमा अपराध वा सेटिङ अब सामान्यस्तरमा मात्र सीमित छैन; यो राज्यको नीतिगत तहसम्म गहिरिएर सञ्जालका रूपमा फैलिएको छ।

२.झापा दमकका ‘इनम’ र शक्ति केन्द्रको नेक्सस

कविताले औंल्याएका पात्र र घटनाहरू हालैका दिनमा सतहमा आएका गम्भीर आपराधिक तथा प्रशासनिक अनियमितताहरूसँग ठ्याक्कै मेल खान्छन्। झापा दमकका ३१ वर्षीय, एमबीबीएस र विद्यावारिधि (पीएचडी) जस्ता उच्च प्राविधिक तथा शैक्षिक योग्यता हासिल गरेका इनम सापकोटाजस्ता युवाहरू जब रचनात्मक र सिर्जनात्मक बाटो छोडेर राज्यको शक्ति सन्तुलनलाई नै हल्झाउने खालका फर्जी धन्दा, ठगी र सेटिङमा लाग्छन्, तब यो देशको शिक्षा प्रणाली र बौद्धिक वर्गमाथि नै ठूलो प्रश्नचिह्न उठ्छ।

पूर्वप्रधानन्यायाधीशसँगको निकटता, उच्च प्रहरी अधिकृतहरूसँगको अवैध सूचना आदानप्रदान र कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका जस्ता राज्यका तीनै वटा महत्वपूर्ण खम्बालाई प्रभावित पार्ने सामर्थ्य राख्नु सामान्य विषय होइन। जब पदीय मर्यादा बिर्सिएर सुरक्षा प्रमुख वा न्यायकर्ताहरू नै यस्ता पात्रका गोटी बन्छन्, तब विधिको शासन (Rule of Law) धराशायी हुन्छ र न्याय केवल किनबेचको वस्तु बन्न पुग्छ।

३. इमानको पतन र ‘इनम’तन्त्रको उदय

समाजमा आज इमानदार र पसिना बगाउने मानिस पछाडि परेका छन् भने छोटो बाटोबाट अथाह सम्पत्ति कमाउने, ‘सेटिङ’ मिलाउने र शक्तिमा पहुँच बनाउनेहरू सम्मानित हुने उल्टो संस्कार विकास भएको छ। कवितामा भनिए झैँ- “इमान इनाम इनम कै, शैतान र बेइमान उनकै”। यो हरफले आजको नैतिक क्षयको पराकाष्ठालाई प्रष्ट्याउँछ। मोबाइलका म्यासेजहरूदेखि कानुनका दफा, अनुच्छेद र परिच्छेदका छिद्रहरू (Loopholes) खोजेर कसरी कानुनी राज्यलाई छल्न र चलाउन सकिन्छ भन्ने कुराको सिकाइ आजका ‘नटवरलाल’ हरूमा देखिन्छ।

निष्कर्ष

यो कविता र यसले इङ्गित गरेको यथार्थ घटना केवल एक व्यक्तिको पक्राउ वा छानबिनको विषय मात्र होइन; यो त नेपाली राज्यप्रणालीभित्र गढेर बसेको क्यान्सररूपी बिचौलियातन्त्रको निदानको विषय हो। जबसम्म नीति निर्माता र पदमा बस्नेहरूमा राजनीतिक इच्छाशक्ति हुँदैन र दण्डहीनताको अन्त्य हुँदैन, तबसम्म एउटा इनम वा चोलेन्द्र मात्र समातिएर प्रणाली सुध्रिने छैन। देशलाई फेरि ट्र्याकमा ल्याउन र नागरिकमा विधिको शासनको अनुभूति गराउन यो ‘इनम संस्कृति’ र ‘सेटिंगवाज नेक्सस’को जरो उखेलेर फाल्न अब ढिला गर्नु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।