रौतहटमा मतदानस्थल तथा केन्द्र पुनरावलोकन गर्न अपिल, मंसिर १४ सम्म सिफारिस पठाउन आग्रह

रौतहटमा मतदानस्थल तथा केन्द्र पुनरावलोकन गर्न अपिल, मंसिर १४ सम्म सिफारिस पठाउन आग्रह

प्रेमचन्द्र झा,कार्तिक २० रौतहट

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा रहेका मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ। जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले हाल कायम रहेका मतदानस्थल तथा मतदान केन्द्रमध्ये कुनै कारणले परिवर्तन, थपघट वा पुनरावलोकन गर्नुपर्ने भए सिफारिस पठाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ।

समितिको निर्णयअनुसार मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न उपयुक्त देखिएमा आगामी मंसिर १४ गतेसम्म सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक सिफारिससहित विवरण पठाउनुपर्नेछ।

मतदातालाई मतदान गर्न सहज हुने स्थानको व्यवस्था, भौगोलिक अवस्था, बस्तीको दूरी, यातायात तथा पहुँचको सुविधा र मतदाताको संख्यालाई समेत आधार मानेर मतदानस्थल तथा केन्द्रको पुनरावलोकन गर्न सकिने जनाइएको छ। विशेषगरी अपायक स्थानमा रहेका मतदानस्थल, मतदातालाई लामो दूरी हिँड्नुपर्ने अवस्था तथा जनसंख्याको चापअनुसार केन्द्र व्यवस्थापनमा देखिएका समस्यालाई सम्बोधन गर्न पुनरावलोकन उपयोगी हुने अपेक्षा गरिएको छ।

स्थानीय तहगत विवरणअनुसार चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ वटा मतदानस्थल रहेका छन् भने यमुनामाई गाउँपालिकामा सबैभन्दा कम ६ वटा मतदानस्थल छन्। गरुडा, ईशनाथ, गढीमाई, गुजरा, गौरलगायतका स्थानीय तहमा पनि मतदानस्थलको संख्या उल्लेख्य रहेको छ।

मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकनले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, सहज र मतदातामैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। त्यसैले सम्बन्धित वडा कार्यालय, राजनीतिक दल, सरोकारवाला निकाय तथा स्थानीय नागरिकलाई आवश्यक आधार र प्रमाणसहित समयमै सुझाव तथा सिफारिस पठाउन आग्रह गरिएको छ।

समितिको यो निर्णयले आगामी स्थानीय तह निर्वाचनअघि रौतहटमा मतदानस्थल तथा केन्द्रको अवस्थाबारे पुनः मूल्यांकन गर्ने बाटो खोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।