ताइवानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने एउटा चालकरहित हवाई उपकरण ‘ड्रोन’ लाई खसाल्यो

ताइवानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने एउटा चालकरहित हवाई उपकरण ‘ड्रोन’ लाई खसालिदिएको छ । बिहीबार चिनियाँ तटपारी ताइवानी प्रशासनको नियन्त्रणमा रहेको टापुनजिक हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने अज्ञात गैरसैनिक ड्रोन खसालिएको ताइवानी सेनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ भूभागबाट आफ्नो भूमि, जल एवम् हवाई क्षेत्रमा हुने घुसपैठविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएपछि ताइवानी सेनाले पहिलो पटक ड्रोन खसालेको हो ।

चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ। चीनले ताइवानलाई मूलभूमिसँग विलय गराउनका लागि बल प्रयोग गर्ने विकल्प खुला रहेको बताउने गरेको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत महिना ताइवानको भ्रमण गरेसँगै चीनले ताइवान आसपास सैन्य अभ्यास गरेको थियो। ।

ताइवान सरकारले भने ताइवान स्ट्रेट क्षेत्रमा तनाव वा उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्ने बताउँदै आएको छ । यद्यपि पछिल्लो समय चिनियाँ लडाकु विमान, ड्रोन, युद्धपोतले ताइवानी हवाई एवम् जलक्षेत्रको उल्लङ्घन गर्न थालेपछि भने ताइवान चिढिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।