राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन शिलान्यास

राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन शिलान्यास

काठमाडौं २१ फागुन

दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन निर्माणको मंगलबार शिलान्यास गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। यस अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४.३३१ करोड रुपैयाँको परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भइरहेको छ। भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको छ। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ।

तुलसीपुर उपमहानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे। उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन्। यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यी मध्ये, दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। परियोजनाहरुको कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधारको विस्तार गरी जनताको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।