भारतीय महावाणिज्य दूतावास बीरगंज द्वारा विश्व हिन्दी दिवस २०२६ भव्य रूपमा सम्पन्न
भारतीय महावाणिज्य दूतावास बीरगंज द्वारा विश्व हिन्दी दिवस २०२६ भव्य रूपमा सम्पन्न

बीरगंज २७ पुस
भारतीय महावाणिज्य दूतावास, बीरगंजले विश्व हिन्दी दिवस–२०२६ को अवसरमा ११ जनवरी २०२६ का दिन एक भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूका लागि भाषण तथा कविता प्रतियोगिता सम्पन्न भयो भने शारदा कला केन्द्र, रक्सौलद्वारा आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूत श्री देवी सहाय मीना ले विश्व पटलमा हिन्दी भाषाको व्यापकता र भारत–नेपालबीच सांस्कृतिक सम्बन्ध सुदृढ गर्न यसको भूमिकामाथि प्रकाश पारे। यस अवसरमा उहाँले विश्व हिन्दी दिवसका अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दी भाषा र संस्कृतिको विश्वव्यापी प्रवर्द्धनप्रति भारत सरकारको प्रतिबद्धता उल्लेख गर्नुभयो।
विभिन्न विद्यालयका विद्यार्थीहरूले भारत र नेपालबीच युगौँदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको महत्व विषयमा आयोजित भाषण तथा स्वरचित कविता प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाए। विद्यार्थीहरूको भाषिक दक्षता र रचनात्मक प्रस्तुतिले उपस्थित अतिथिहरूलाई प्रभावित गर्यो।
प्रतियोगिताका विजेताहरूलाई महावाणिज्य दूत श्री देवी सहाय मीना ले प्रभावशाली प्रस्तुतिका लागि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रम अत्यन्त सफल रहँदै भारतीय महावाणिज्य दूतावास, बीरगंजले यस क्षेत्रमै हिन्दी भाषा र संस्कृतिको प्रवर्द्धनप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
कार्यक्रममा शैक्षिक संस्था, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि, भारत–नेपाल मैत्री संघका सदस्यहरू तथा अन्य हिन्दी प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






