निरन्तर साधनाबाट सरस्वतीको स्वरूप गढ्दै प्रभु मण्डल
निरन्तर साधनाबाट सरस्वतीको स्वरूप गढ्दै प्रभु मण्डल

राजविराज ८ माघ
सप्तरी जिल्लाको मधेस प्रदेश अन्तर्गत विष्णुपुर गाउँपालिका–५ का मुर्तिकार प्रभु (खंग) मण्डल पछिल्ला वर्षहरूमा सरस्वती मुर्ति निर्माणका लागि जिल्लामै मात्र होइन, अन्य जिल्लासमेत चर्चित बन्दै गएका छन्।
कला, आस्था र निरन्तर परिश्रमको संगम बनेका मण्डलले राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा हरेक वर्ष मंसिर महिनादेखि माघको पहिलो हप्तासम्म सरस्वती मुर्ति निर्माण तथा रंगरोगन गर्दै आएका छन्।
यस वर्ष पनि उनले सप्तरी जिल्लामै सबैभन्दा बढी १०७ वटा सरस्वती मुर्ति निर्माण गरेका छन्।
काठ, माटो र रङको संयोजनबाट तयार गरिने उनका मुर्तिहरू जीवन्त, कलात्मक र धार्मिक भावनाले ओतप्रोत हुने गरेको ग्राहकहरूको भनाइ छ। प्रभु मण्डललाई सप्तरी जिल्लाकै कुशल र अनुभवी मुर्तिकारका रूपमा लिने गरिन्छ, जसले निर्माण गरेका सरस्वती मुर्ति हरेक वर्ष सबै बिक्री हुने गरेका छन्।
उनले सजाएका मुर्तिहरू सप्तरी जिल्लासँगै छिमेकी जिल्लाहरूमा समेत पुर्याइने गरिन्छ। ग्राहकहरूका अनुसार यति सुन्दर र कलात्मक सिंगार गरिएका सरस्वती मुर्ति अन्यत्र सायदै पाइन्छन्। मण्डलले ठूला, मझौला तथा साना सबै प्रकारका मुर्तिहरू निर्माण गर्दै आएका छन्। मुर्तिको आकार र सिंगारअनुसार मूल्य फरक–फरक तोकिएको छ, जसको मूल्य १ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म पर्ने गर्दछ।
आफ्नो पेशाबारे बोल्दै प्रभु मण्डल भन्छन्, “सरस्वती विद्या र ज्ञानकी देवी हुनुहुन्छ। हिन्दु धर्मप्रति आस्था राख्ने गरिब–धनी सबैको घर–घरमा सरस्वतीको पूजा होस् भन्ने उद्देश्यले म मुर्ति निर्माण गर्छु।” उनको यो भनाइले व्यवसायभन्दा बढी धर्म, संस्कृति र सेवाभावप्रतिको प्रतिबद्धता झल्काउँछ।
आम्दानीका विषयमा उनले तीन महिना निरन्तर मेहनत गरेपछि लगानी कटाएर करिब दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताए। त्यसबाट सहयोगी स्टाफहरूलाई पारिश्रमिक दिएपछि करिब एक लाख रुपैयाँ जति बचत हुने उनको भनाइ छ। यद्यपि, उनले पैसाभन्दा पनि आफ्नो कलामार्फत समाजमा धार्मिक र सांस्कृतिक चेतना फैलाउन पाएकोमा बढी सन्तुष्टि मिल्ने बताउँछन्।
स्थानीय संस्कृतिको संरक्षण र धार्मिक आस्थालाई जीवन्त राख्न प्रभु मण्डलजस्ता मुर्तिकारहरूको योगदान महत्वपूर्ण रहेको छ। सरस्वती पूजाको अवसरमा उनका हातबाट बनेका मुर्तिहरूले हजारौं घरआँगनमा ज्ञान, कला र संस्कृतिको उज्यालो छर्ने विश्वास गरिएको






