परवानीपुरमा जसपा नेपालको शक्ति प्रदर्शन : सन्जु साहको जित सुनिश्चित गर्न अगुवा कार्यकर्ता एकजुट
परवानीपुरमा जसपा नेपालको शक्ति प्रदर्शन : सन्जु साहको जित सुनिश्चित गर्न अगुवा कार्यकर्ता एकजुट

वीरगञ्ज १६ माघ
बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज अगुवा कार्यकर्ता भेला आयोजना गर्दै आगामी निर्वाचनलाई लक्षित संगठनात्मक सक्रियता तीव्र पारेको छ।
पार्टी संगठन सुदृढीकरण र उम्मेदवारको जित सुनिश्चित गर्ने उद्देश्यले आयोजित भेलामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री सोनलले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकासको एजेन्डा स्थापित गर्न जसपा नेपालको निर्णायक भूमिका रहेको बताउनुभयो।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह र क्षेत्रीय अध्यक्ष सिताराम लगाउतले बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट छाता छापका उम्मेदवार सन्जु साहलाई विजयी बनाउन अगुवा कार्यकर्ताहरू एकताबद्ध, अनुशासित र सक्रिय भएर मैदानमा उत्रन आह्वान गर्नुभयो। उनीहरूले घरदैलो अभियान, जनसम्पर्क विस्तार र संगठनात्मक मजबुतीमार्फत जनताको विश्वास जित्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मोहन पटेल, वडा अध्यक्ष रामेश्वर साहलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले आगामी दिनमा चुनावी गतिविधिलाई थप प्रभावकारी बनाउँदै जनआधारित अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको जनाइएको छ।






