विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर सगै बारा–२ मा कांग्रेसको जनआधार बलियो बन्दै
विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर सगै बारा–२ मा कांग्रेसको जनआधार बलियो बन्दै

बारा २० माघ
बाराको पचरौता नगरपालिका क्षेत्रमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाराको निर्वाचन क्षेत्र नं. २ मा विभिन्न पार्टी प्रत्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्यामा वृद्धिले जनआकर्षण तीव्र रूपमा बढेको देखिएको छ।
सोमवार कार्यकर्ता भेटघाट र घरदैलो आयोजित एक कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ता, जेन्जी युवादेखि ज्येष्ठ नागरिकसम्म, संगठित रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई बारा क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भैयाराम यादवले गाम्छा लगाएर स्वागत गरेका थिए।
घरदैलो भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार यादवले लोकतन्त्र, समावेशी विकास र जनताको अधिकार सुनिश्चित गर्ने एक मात्र भरोसायोग्य शक्ति नेपाली कांग्रेस भएको उल्लेख गरे। उनले भने, “देशलाई स्थायित्व, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन कांग्रेसको विकल्प छैन। आज विभिन्न दलबाट निराश बनेर कांग्रेसमा प्रवेश गर्नु भएको सबैलाई म हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु।”
यादवले पछिल्लो समय बारा–२ मा कांग्रेसप्रति देखिएको समर्थनले पार्टीको जनआधार थप मजबुत बन्दै गएको दाबी गरे। उनले नवप्रवेशीहरूलाई पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रहसमेत गरेका थिए ।
नवप्रवेशीहरूले कांग्रेसको इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र जनमुखी एजेन्डाबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको यादवले बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार यादवले पार्टी प्रवेश कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेलेका कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ संगठित भएर चुनावी मैदानमा उत्रिनुपर्नेमा जोड दिए। कार्यक्रममा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।






