प्रदीप यादवको घरदैलो, सूर्य चिन्हमा मतदान गर्न आग्रह
प्रदीप यादवको घरदैलो, सूर्य चिन्हमा मतदान गर्न आग्रह

वीरगञ्ज १० फागुन
नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ मा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदाताहरूसँग सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
आइतबार बिहानदेखि नै वडाका विभिन्न टोल–टोलमा पुगेर यादवले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट तथा लामो संवाद गरेका थिए। मतदातासँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले पर्साको विकास, समृद्धि र स्थिर सरकारका लागि सूर्य चिन्हमा मतदान गरी आफू लगायत एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गरे।
आफूले यसअघि सांसद तथा खानेपानी मन्त्रीका रूपमा गरेका कामहरूको चर्चा गर्दै उनले अधुरा योजना पूरा गर्न एमालेको जित आवश्यक रहेको बताए। “मैले विगतमा खानेपानी मन्त्रीका रूपमा यस क्षेत्रमा गरेका काम र आगामी योजनाहरूलाई पूर्णता दिन एमालेको जित अनिवार्य छ। जनताको विश्वास र साथले नै हामी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ,” उनले भने।
घरदैलोका क्रममा स्थानीयवासीहरूले सडक, ढल निकास, खानेपानी, बिजुली, रोजगारी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत समस्या र मागहरू राखेका थिए। यादवले ती सबै विषय ध्यानपूर्वक सुनेर समाधानका लागि ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिने र जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा वडाका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






