कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी, कला,संस्कृति र युवाको आवाज केन्द्रमा पुर्याउने लक्ष्य
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी, कला,संस्कृति र युवाको आवाज केन्द्रमा पुर्याउने लक्ष्य

काठमाडौं १६ असोज
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरेसँगै वरिष्ठ लोकदोहोरी गायक तथा सांस्कृतिक अभियन्ता चन्द्र शर्माले पेशागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । दाङ जिल्ला क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्मा उम्मेदवारी दर्ताका लागि काठमाडौं आएका हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी तथा सांस्कृतिक क्षेत्रमा सक्रिय शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पूर्वअध्यक्षसमेत हुन् । प्रतिष्ठानको नेतृत्वमा रहँदा कलाकारको हकहित, लोकसंगीतको संरक्षण र नेपाली मौलिक संस्कृतिको प्रवर्द्धनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायबीच समेत लोकसंगीत र नेपाली संस्कृतिको प्रवर्द्धनमा उनको निरन्तर सहभागिता रहँदै आएको छ ।
कलाकारिताबाट स्थापित पहिचानलाई अब राजनीतिक तथा नीतिगत भूमिकासँग जोड्ने उद्देश्यसहित शर्माले केन्द्रीय सदस्यको उम्मेदवारी अघि सारेका हुन् । उनका अनुसार कला, संस्कृति, भाषा, साहित्य तथा गीत–संगीत मनोरञ्जनका विषय मात्र नभई मुलुकको पहिचान र सामाजिक जीवनसँग जोडिएका महत्वपूर्ण क्षेत्र हुन् । त्यसैले यी विषयलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउन आवश्यक छ ।
दाङ क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरूबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि शर्माले आफूलाई विश्वास गर्ने प्रतिनिधि, अग्रज नेता, सभापति तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । उनले प्राप्त विश्वासलाई आफ्नो आगामी राजनीतिक भूमिकाको आधार बनाउँदै सांस्कृतिक क्षेत्रका मुद्दालाई पार्टीको केन्द्रसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
“ममाथि विश्वास गरी यो जिम्मेवारीमा पठाउनुहुने दाङ जिल्ला क्षेत्र नं. २ का सम्पूर्ण आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरू, अग्रज नेतागण, सभापतिज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकप्रति हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु,” शर्माले भनेका छन्, “तपाईंहरूले दिनुभएको यो माया र विश्वासलाई कला, संस्कृति, भाषा, साहित्य र गीत–संगीतका माध्यमबाट पार्टीमा अझ जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता गर्दछु ।”
शर्माको राजनीतिक संलग्नता पछिल्ला वर्षमा पार्टीको साहित्य, कला तथा संस्कृति क्षेत्रसँग पनि जोडिँदै आएको छ । उनलाई नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागमा जिम्मेवारी दिइएको थियो । उक्त अनुभवलाई संगठनात्मक जिम्मेवारीसँग जोड्दै उनी अब केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन् ।
कलाकार तथा श्रष्टाका पेशागत समस्या, सामाजिक सुरक्षा, सिर्जनाको अधिकार, रोयल्टी, लोकसंगीतको संरक्षण र नयाँ पुस्तालाई कला–संस्कृतिसँग जोड्ने विषयलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ । डिजिटल माध्यमको विस्तारसँगै नेपाली संगीतले विश्वव्यापी पहुँच पाए पनि श्रष्टाको अधिकार र पेशागत सुरक्षाका विषयमा अझै संस्थागत पहल आवश्यक रहेको उनी बताउँछन् ।
यसपटक कांग्रेसको महाधिवेशनमा विभिन्न पेशा र क्षेत्रबाट आएका प्रतिनिधिहरूको सहभागिता पनि देखिएको छ । कलाकारिता तथा सांस्कृतिक क्षेत्रबाट आएका प्रतिनिधिहरूको उपस्थितिले पार्टीको केन्द्रीय संरचनामा पेशागत प्रतिनिधित्वको बहसलाई थप विस्तार गरेको छ । यही परिवेशमा शर्माको उम्मेदवारीले कला–संस्कृति क्षेत्रको प्रतिनिधित्वलाई राजनीतिक नेतृत्वसँग जोड्ने अवसरका रूपमा चर्चा पाएको छ ।
दाङमा जन्मिएका शर्मा लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारका रूपमा परिचित छन् । सांगीतिक यात्राका क्रममा उनले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । नेपाल सरकारबाट प्रबल जनसेवा श्री पदकबाट समेत विभूषित शर्माले कलाकारिता र सामाजिक क्षेत्रको आफ्नो अनुभवलाई राजनीतिक भूमिकामा उपयोग गर्ने लक्ष्य राखेका छन् ।
उनको उम्मेदवारी अब महाधिवेशनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ । पेशागत विज्ञ समूहबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्दै शर्माले आफ्नो सांगीतिक तथा सांस्कृतिक अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने एजेन्डा अघि सारेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विभिन्न पेशागत क्षेत्रको प्रतिनिधित्वलाई समेत आकार दिनेछ । त्यसमा वरिष्ठ लोकगायक शर्माको उम्मेदवारीले नेपाली कला, संस्कृति, भाषा, साहित्य र संगीत क्षेत्रको आवाजलाई पार्टीको केन्द्रीय तहमा कसरी प्रतिनिधित्व गरिन्छ भन्ने बहसलाई थप अगाडि ल्याएको छ ।





