परवानीपुर–१ मा जसपा नेपालको घरदैलो : ग्रामीण विकास र मधेश अधिकार मुख्य एजेन्डा
परवानीपुर–१ मा जसपा नेपालको घरदैलो : ग्रामीण विकास र मधेश अधिकार मुख्य एजेन्डा

बारा, १६ फागुन
बारा क्षेत्र नं.–४ का जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) उम्मेदवार सन्जु साह र पूर्व मन्त्री जितेन्द्र सोनलले परवानीपुर गाउँपालिका–१ बुनियादमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो क्रममा नेताद्वयले मधेशको पहिचान, अधिकार र संघीयताको प्रभावकारी कार्यान्वयन जसपा नेपालको प्रमुख चुनावी मुद्दा रहेको बताएका छन्। उनीहरूले संविधान संशोधनमार्फत मधेशी, दलित, पिछडावर्ग, महिला तथा अल्पसंख्यक समुदायको समान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्रामीण क्षेत्रको विकासलाई केन्द्रमा राख्दै कृषिमा आधुनिकीकरण, मल–बीउको सहज आपूर्ति, सिँचाइ विस्तार, किसानलाई न्यून ब्याजदरमा ऋण, स्थानीय उत्पादनको बजार सुनिश्चितता, ग्रामीण सडक र पुल निर्माण, स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नति, स्वच्छ खानेपानी र विद्युत् पहुँच विस्तार गर्ने योजना अघि सारिएको थियो।
युवालाई स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक तालिम, साना तथा घरेलु उद्योग प्रवर्द्धन र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने पनि उनीहरूको प्रतिबद्धता थियो। संघीय सरकारसँग समन्वय गरी गाउँ–गाउँमा विकास बजेट पु¥याउने दाबी गर्दै नेताद्वयले मधेशको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई बलियो बनाउन मतदातासँग आग्रह गरेका छन्।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।






