इरान–अमेरिका युद्ध र नेपालको बहुआयामिक संकट

इरान–अमेरिका युद्ध र नेपालको बहुआयामिक संकट

डा.विजय दत्त

एउटा जनभनाई छ-टाढा र सुदुरको गाउँमा देवी प्रकोप वा मानवीय प्रकोप भयो भने प्रत्येक जनले डराउने गर्छ -त्यही भनाइ नेपालको यथार्थमा रहेको छ । अमेरिका-इरान -इजरायलमा भीषण युद्ध प्रारम्भ भएको छ तर,उच्च स्केलको भुकम्प नेपालमा गएको छ र जानेछ ।
मध्यपूर्वमा पुनः चर्किंदै गएको इरान र अमेरिका बीचको सैन्य तनाव केवल क्षेत्रीय द्वन्द्वमा सीमित छैन । यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति, कूटनीतिक शक्ति सन्तुलन र विकासोन्मुख मुलुकहरू—विशेषतः नेपाल—माथि गहिरो रूपमा पर्ने निश्चित छ । आसन्न निर्वाचनको संघारमा विश्वयुद्धको सम्भावना बोकेको यो द्वन्द्वले नेपाललाई कुन दिशामा धकेल्दैछ ? नेपालमा रोजगारी पनि वैदेशिक रोजगारी,इन्धन बाहिर,उत्पादन बाहिरको,बैकहरुमा पैसा झिक्न तछारमछार,उड्डयनहरु बन्द,ग्यास,पेट्रोल सबै बन्द हुने,विदेशमा रहेकालाई विचल्ली र घरका लाई गम्भीर पिडा,डिजिटल अन्धकार हुने लगायतका प्रश्नहरुको उत्तर खोज्ने प्रयास यो लेखमा गरिएको छ तथा सचेत पाठक माझ प्रस्तुत गरेको छु –

१. अत्याधुनिक हतियार र नयाँ युद्ध–चरित्र
इरान–अमेरिका तनाव अब परम्परागत युद्धको चरणमा सीमित छैन । ड्रोन, साइबर आक्रमण, हाइपरसोनिक मिसाइल, कृत्रिम बुद्धिमत्तामा आधारित निगरानी प्रणालीजस्ता अत्याधुनिक हतियारहरूले युद्धको स्वरूप नै बदलिएको छ । युद्ध अब सीमामा होइन—ऊर्जा बजार, सञ्चार प्रणाली, वित्तीय नेटवर्क र जनमानसमा लडिन्छ । यस्तो युद्धले कमजोर राज्यहरूलाई प्रत्यक्ष नलडाई पनि घाइते बनाउँछ ।

२. इरानी सत्ता संरचनामाथि आक्रमण र अस्थिरताको सन्देश
इरानका सर्वोच्च नेतृत्व तह, विशेषतः अयातोल्लाह खामेनीको हत्या तथा वरिपरिका उच्च अधिकारीहरू लक्षित भएका छन् । यसले राज्य–संरचनामाथि नै चुनौती खडा गरेको संकेत दिएको छ । यो मनोवैज्ञानिक युद्धका हतियार—यसले इरानको आन्तरिक स्थिरता र प्रतिक्रियात्मक क्षमतामाथि प्रश्न उठाएको छ ।

३. छिमेकी मुस्लिम राष्ट्रहरूमा रहेका अमेरिकी बेस क्याम्प
इरानले प्रत्यक्ष रूपमा युद्ध विस्तार नगरे पनि छिमेकी मुस्लिम राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गरेर ‘प्रतिनिधि युद्ध’ (Proxy War) को रणनीति अपनाउँदै आएको छ । यसले मध्यपूर्वलाई स्थायी युद्ध–क्षेत्रमा रूपान्तरण गरिरहेको छ । यस्तो अवस्था विश्वव्यापी आपूर्ति शृङ्खला र श्रम बजारमा गम्भीर असर पार्छ ।

४. इजरायलमाथि इरानी आक्रमण र क्षेत्रीय विस्फोट
इजरायल इरान–अमेरिका द्वन्द्वको केन्द्रबिन्दु बनेको छ । इजरायलमाथि हुने कुनै पनि प्रत्यक्ष आक्रमणले नाटो राष्ट्रहरू, अरब गठबन्धन र विश्व शक्ति सन्तुलनलाई एकैचोटि हल्लाउने क्षमता राख्छ । यसले युद्धलाई ‘सीमित’ होइन ‘सार्वभौमिक’ बनाउने जोखिम बोकेको देखिन्छ छ ।

५. ऊर्जा संकट र विश्व अर्थतन्त्र
मध्यपूर्व विश्वको प्रमुख तेल–ग्यास आपूर्तिकर्ता क्षेत्र हो । युद्ध चर्किएसँगै पेट्रोलियम मूल्य वृद्धि, ढुवानी अवरोध र मुद्रास्फीति बढ्ने निश्चित छ । नेपालजस्तो आयात–निर्भर अर्थतन्त्रका लागि यो प्रत्यक्ष आर्थिक झट्का हो—यातायातदेखि खाद्यान्नसम्म सबै महँगो हुन्छ र हुने नै छ ।

६. रेमिटान्स–निर्भर नेपाल र श्रम संकट
नेपालले आफ्नो अर्थतन्त्र ठूलो मात्रामा युवाशक्ति विदेश पठाएर कमाएको रेमिटान्समा टिकाएको छ । मध्यपूर्वमा युद्ध चर्किएमा हजारौँ नेपाली श्रमिकको रोजगारी, सुरक्षा र आम्दानी जोखिममा पर्छ । वैकल्पिक रोजगारीको नीति नभएको नेपालका लागि यो ‘दोहोरो संकट’ हो—न रोजगारी, न रेमिटान्स ।

७. अदूरदर्शी नेतृत्व र रणनीतिक शून्यता
नेपाली राजनीतिक नेतृत्व आन्तरिक सत्ता–संघर्ष, दलगत स्वार्थ र अल्पकालीन लाभमा सीमित देखिन्छ । विश्व भूराजनितिक परिवर्तनप्रति राष्ट्रिय रणनीति, कूटनीतिक तयारी र संकट व्यवस्थापन योजना प्रायः शून्य अवस्थामा छन् । युद्धको असर पर्खेर बस्ने होइन—पूर्वतयारी गर्ने नेतृत्व आवश्यक हुन्छ, जुन अभावमा छ ।

८. भूराजनिति र ‘स्काई राजनीति’
आजको युद्ध आकाशबाट लडिन्छ—उपग्रह, मिसाइल डिफेन्स सिस्टम, ड्रोन र साइबर नेटवर्कमार्फत । नेपाल भने अझै ‘भौगोलिक तटस्थता’लाई नै सुरक्षा नीति ठानिरहेको छ । आकाशीय राजनीति (Sky Politics) र डिजिटल सुरक्षा नबुझेको राज्य भविष्यमा सजिलै प्रयोग हुने जोखिममा पर्छ ।

९. आसन्न निर्वाचन र युद्धको सन्देश
विश्व इतिहासले देखाउँछ—ठूला युद्धहरू प्रायः राजनीतिक संक्रमण, निर्वाचन वा सत्ता–पुनर्संरचनाको बेला चर्किन्छन् । यो युद्धले लोकतन्त्र, जनमत र राष्ट्रियतामाथि भावनात्मक दबाब सिर्जना गर्ने संकेत दिन्छ । नेपालमा पनि निर्वाचनलाई भावनात्मक राष्ट्रवाद वा बाह्य शक्तिको प्रभावमा मोड्ने प्रयास हुन सक्छ भन्ने प्रबल शंका छ ।

१०. अन्तर्राष्ट्रिय संस्थाहरू कमजोर बन्दै गएका छन्
साना राष्ट्रहरू ‘रणनीतिक मौनता’ अपनाउन बाध्य छन्
सूचना युद्ध (Information War) ले जनमानस त्रसित र भ्रमित बनाइरहेको छन ।
नेपालजस्ता देशका लागि बहुपक्षीय कूटनीति अपरिहार्य बन्दैछ ।

निष्कर्ष
इरान–अमेरिका युद्ध नेपालका लागि टाढाको समाचार होइन,यो प्रत्यक्ष आर्थिक, कूटनीतिक र सामाजिक चुनौती हो । अब नेपालले तटस्थताको नाममा निष्क्रिय बस्ने होइन, रणनीतिक सचेतता, कूटनीतिक सन्तुलन र आन्तरिक आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्छ । नत्र, विश्व शक्तिहरूको द्वन्द्वमा नेपाल केवल दर्शक होइन—पीडित बन्नेछ । नेपालले परनिर्भरताबाट टाढिदै आफ्नो बहुआयामिक आत्मनिर्भरतालाई पुनः कायमगरि मुलुक र मुलुकवासीलाई जोगाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।