वैशाख शुक्ल नवमी: सिया प्राकट्य दिवस– सीतातत्व दर्शन :डा.विजय दत्त

वैशाख शुक्ल नवमी: सिया प्राकट्य दिवस– सीतातत्व दर्शन : डा.विजय दत्त

​प्रकटी भुमिपुत्री सत-मनु की सृष्टि,
इच्वाकु कि ईच्छा।
नैमि के आंगन, जनक के पावन,
मिथि विदेह सदिच्छा।।

​सृष्टिको चक्रमा त्रेतायुग एउटा यस्तो स्वर्णिम कालखण्ड बन्यो, जहाँ मर्यादा र धर्मको स्थापनाका लागि साक्षात ब्रह्मले मानव अवतार ग्रहण गरेका थिए । मर्यादा पुरुषोत्तमको शक्ति र संकल्प स्वरुप रामको अवतरण चैत नवमीको अवधमा भए र सो शक्तिलाई सहधर्मी आधारका रूपमा वैशाख शुक्ल नवमीका दिन मिथिलाको पावन भूमिमा ‘सीता’ प्राकट्य भइन । यो केवल एउटा कन्याको जन्म मात्र नभई, बरु धर्तीको धैर्य, नारीको गरिमा र सृष्टिको ममताको दिव्य प्रकटीकरण भएको थियो ।

सीता अयोनिजा शक्तिको हुन । यो ‘अयोनिजा’ स्वरूपले नारीलाई केवल हाड-मासुको शरीर मात्र नभएर साक्षात ‘प्रकृति’ र ‘पराशक्ति’ को अंशका रूपमा स्थापित गरेको छ । यसले नारीशक्ति कुनै मानवीय सीमा वा जैविक बन्धनमा बाँधिएको हुँदैन,अपितु यो त धर्तीजस्तै धैर्यवान्, आकाशजस्तै व्यापक र पञ्चतत्वजस्तै अपरिहार्य हुन ।
जब विदेहराज जनकले हलो जोत्दा धर्तीको गर्भबाट सीता प्राकट्य भईन, त्यसले धर्ती र नारीको अभिन्न सम्बन्धलाई मात्र पुष्टि गरेन, बरु नारीलाई सृष्टिको आदि-कारण र शक्तिको अक्षुण्ण स्रोतका रूपमा समेत महिमामय तुल्याए । यसले नारीलाई सृजनाको आधार, शुद्धताको प्रतीक र ब्रह्माण्डीय ऊर्जाको संवाहकको रुपमा चित्रित गरेको छ ।

​१. ऐतिहासिक एवं आध्यात्मिक पृष्ठभूमि: हलो र धर्तीको आत्मिक संबध
ऐतिहासिक तथा धार्मिक ग्रन्थ ​सीतायन अनुसार, मिथिला अधिपति विदेहराज जनकले राज्यमा परेको भीषण अनिकाल अन्त्य गर्न र प्रजाको कल्याणका लागि स्वयं हलो जोत्ने संकल्प गरे अनुसार, प्राचीन मिथिलाको पुनौराधाम ,वर्तमान भारतीय राज्य विहारको सीतामढी जिल्ला, जब राजा जनकले स्वर्ण हलो चलाए, तब हलोको अग्रभाग (जसलाई ‘सीत’ भनिन्छ) एउटा कलशमा ठोक्कियो। सोही कलशबाट जगज्जननी जानकी प्राकट्य भएको उल्लेख देखिन्छ ।

​अध्यात्मको दृष्टिमा सीता ‘अयोनिजा’ हुन्। उनी कुनै मानवीय गर्भबाट नभई पञ्चतत्वको आधार ‘धर्ती’ बाट प्रकट भइन्। त्यसैले उनलाई भूमिपुत्री भनिन्छ। सीताको अर्थ नै ‘हलोले बनाएको रेखा’ हो। यसबाट के प्रष्टिन्छ भने,जब शासकले श्रम र धर्तीप्रति सम्मान व्यक्त गर्ने गर्छ, तब मात्र लक्ष्मी र ऋद्धि-सिद्धिको प्राप्ति हुन्छ ।

​२. कृषि कर्म र श्रमको सम्मान
​सीताको प्राकट्य,सनातन धर्ममा कृषि कर्म उच्चतम सम्मानको कर्म हुन । किनभने, एक चक्रवर्ती राजाले आफ्नै हातले हलो जोत्नुले श्रमको मर्यादा (Dignity of Labour) स्थापित गरेको छ ।

*​उत्पादनको उत्सव*: सीताको जन्म हलोको माध्यमबाट हुनुले अन्न र धर्तीको अन्तरसम्बन्धलाई जोडेको छ ।

​ *पर्यावरण संरक्षण* धर्तीलाई ‘माता’ मान्ने संस्कार यहीँबाट झाङ्गिएको हो । कृषि केवल पेट भर्ने माध्यम मात्र नभएर यो एउटा आध्यात्मिक अनुष्ठान हो भन्ने सन्देश जानकी प्राकट्यले दिएको छ ।

​३. सामाजिक र सांस्कृतिक चेतनाको केन्द्र: मिथिला
​सीताको प्राकट्यले मिथिलाको माटोलाई विश्वकै सांस्कृतिक राजधानी बनाएको छ । मिथिलाको कला, साहित्य, र जीवनशैलीमा आज पनि सीताको प्रभाव जीवन्त देखिन्छ ।
*​मिथिला कला*- सीताको विवाह र प्राकट्यका दृश्यहरू मिथिलाका घर- घरका भित्ताहरूमा कोरिने गरिन्छ, जसले नारी शक्ति र सृजनशीलताको प्रतिनिधित्व गरेको छ विश्वभरि नै फैलिएको छ ।

सांस्कृतिक एकता: सीता केवल नेपाल वा भारतको सिमानामा बाँधिएकी मात्र पावन पात्र होइनन्। उनी दक्षिण एसियाली सभ्यतालाई जोड्ने एउटा ‘सांस्कृतिक सेतु’ हुन्। इतिहासदेखि वर्तमानसम्म जनकपुर र अयोध्याको सम्बन्धले दुई देशबीचको अटुट भावनात्मक सम्बन्धलाई प्रगाढ बनाएको छ। र, यो अटुट र अविरलरुपमा प्रवाहित भई नै रहनेछ ।

​४. नारी अस्मिता र आदर्शको प्रतिमूर्ति
​सीतालाई अक्सर ‘सौम्य’ र ‘सहनशील’ पात्रका रूपमा मात्र हेरिन्छ, तर उनी अत्यन्तै तेजस्वी र साहसी नारी थिइन्।
समानता र सामर्थ्य:बाल्यकालमै भगवान शिवको पिनाक धनुषलाई सहजै उठाउनुले उनको अलौकिक शक्तिलाई प्रष्टरुपमा इंगित गरेको छ ।
​ *निर्णय क्षमता:* अदभूत र अलौकिक निर्णय क्षमताका क्षमतावान उनी वनवास जाने समयमा रामको छाया बनेर हिँड्नु उनको बलिदान मात्र थिएन, बरु पतिसँगै कष्ट भोग्ने उनको दृढ अडान रहेको छ ।
अग्निपरीक्षा र स्वाभिमान:महाराक्षस रावणको लंकामा रहँदा पनि आफ्नो सतीत्व र मर्यादामा आँच आउन नदिनु र अन्तमा आफ्नै स्वाभिमानका लागि पुनः धर्तीमै विलीन हुनुले सीतालाई एक विद्रोही र स्वाभिमानी नारी रहेको पुर्नपुष्टि गरेको छ ।

​५. आध्यात्मिक पक्ष: सीयातत्व र समर्पण
​सीयातत्व सकल जग माही।
नरतन भवतन अनुपम ग्राही।।
​तुलसीदासदेखि वाल्मीकि सम्मले सीतालाई ‘आदि शक्ति’ मानेका छन्। श्रीराम यदि ‘धर्म’ हुन् भने सीता त्यस धर्मलाई धारण गर्ने ‘शक्ति’ हुन्। सीता बिनाको राम अधुरो र अपुरो हुन्छ । तसर्थ, पहिले ‘सीता’ अनि मात्र ‘राम’ ।

​अध्यात्ममा सीतालाई ‘पराशक्ति’ मानिएको छ, जो जीवलाई ईश्वरसँग जोड्ने माध्यम हुन्। उनको जीवनको संदेश दिन्छ कि सुख र दुःख दुवै अवस्थामा समभाव रहनु नै वास्तविक योग हुन । राजमहलको सुखदेखि वनवासको काँडासम्म उनले जुन शान्ति प्रदर्शन गरिन्, त्यो आजको अशान्त विश्वका लागि परम औषधि बनेको छ ।

​६. समकालीन सान्दर्भिकता: आज किन सीता ?
​आजको भौतिकवादी युगमा जहाँ पारिवारिक र सामाजिक सम्बन्धहरू सिसा टुटेफुटे झैँ टुटफुटको अवस्थामा रहेको देखिन्छ ,धैर्यको अभाव छ,सौम्य सीताको जीवनी एउटा मार्गदर्शक सिद्धान्त बनेको छ ।
​१. धैर्य र सहनशीलता: प्रतिकूल परिस्थितिमा पनि नडगमगाउने सिया स्वभावले मानसिक शान्तिको बाटो देखाएको छ ।
२. पारिवारिक मूल्य: त्याग र समर्पणले मात्र परिवार र समाजलाई जोड्न सकिन्छ भन्ने पाठ उनले स्पष्टरुपमा सिकाएकी छन्।
३. प्रकृति प्रेम: उनी धर्तीकी छोरी भएकाले उनको सम्मान गर्नु भनेको प्रकृति र माटोको सम्मान गर्नु नै हो।

सीतातत्व नारीशक्तिको त्यो अजस्व र अजेय स्वरूप हुन,जसले धर्तीजस्तो असीमित धैर्य र बज्रजस्तो दृढ संकल्पको प्रतिनिधित्व गर्ने गरेको छ । यो केवल एउटा ऐतिहासिक पात्रको वृत्तान्त मात्र नभएर प्रत्येक युगका नारीमा अन्तर्निहित रहने आत्मबल, मर्यादा र स्वाभिमानको पराकाष्ठा नै हो। सीतातत्वअजेय छन । यसले रावणजस्तो आततायी शक्तिको अगाडि कहिल्यै शिर झुकाएन र अशोक वाटिकाको एकाकीपनमा पनि आफ्नो सतीत्व र मानसिक दृढतालाई ढल्न दिएन।
यो शक्ति नदीजस्तै निरन्तर र अजस्व प्रवाहवान छ, जो सृजनाको संवाहक बनेर बगिहन्छ र धर्मको रक्षाका लागि आवश्यकता पर्दा अग्निपरीक्षा उत्तिर्ण गर्ने सामर्थ्य राख्दछ। अतः सीतातत्वले नारीलाई केवल कोमलताको प्रतीक मात्र नभई, संसारलाई थाम्ने आधारशक्ति र अन्यायका विरुद्ध कहिल्यै पराजित नहुने एक शाश्वत चेतनाको रूपमा परिभाषित गरेको छ ।

निष्कर्ष

“ये महिमा जो गावत सीतापद पावत
दुख दरिद्र हटजावे ।
हर्षित विजय अवला,वैसाखी धवला
सुखसमृद्धि जस पावे ।।”

​वैशाख शुक्ल नवमी अर्थात् जानकी नवमी केवल एउटा तिथि मात्र होइन, यो धर्तीको उत्सव हो, यो नारी शक्तिको वन्दना हो र यो श्रमको पूजा हो। सीता त्यो दीप हुन् जसले त्रेतायुगलाई मात्र होइन, कलियुगको अन्धकारलाई पनि आफ्नो आदर्शले उज्यालो बनाइरहेकी छन्।
​मिथिलाको पावन भूमिबाट सुरु भएको यो यात्रा आज सारा विश्वको मानसपटलमा ‘जानकी’ का रूपमा विराजमान छ। सीता हुनु भनेको सहनशील हुनु मात्र होइन, सीता हुनु भनेको मर्यादाका लागि सबै थोक त्याग्न सक्ने साहस राख्नु पनि हो।

राजा जनक नगरिया बधैया बाजे ।
नैमिके दुअरिया बधैया बाजे ।।

​जय सियाराम! जय जानकी!! जय किशोरी !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।